तपाईँ सुन्दै हुनुहुन्छः

मधेश प्रदेश सरकार गठन प्रक्रियाको विरोध गर्दै सात दलद्वारा मोटरसाइकल र्‍याली 

जनकपुरधाम । नेपाली काँग्रेस सहितका सात दलीय गठबन्धनले आज जनकपुरधाममा मधेश प्रदेश सरकार गठन प्रक्रियाको विरोध गर्दै मोटरसाइकल र्‍याली निकालेको छ । 

मधेश भवनको मुख्य प्रवेशद्वारबाट निकालिएको र्‍याली नगरको विभिन्न भागको परिक्रमा गरेको छ । प्रदेश सरकार गठन प्रक्रिया नै अवैधानिक भएको भन्दै विगत तीन दिन यता सात दलका नेताहरू आन्दोलनमा उत्रेका छन् । 

धर्ना कार्यक्रमसँगै मोटरसाइकल र्‍याली सात दलले निकालेको छ । मोटरसाइकल र्‍यालीमा मधेश प्रदेश सरकारका पूर्वमन्त्रीहरु, प्रदेश सभाका सदस्यहरु सहभागी रहेका छन् । 

यस अघि मधेश भवनको मुख्य प्रवेश मार्गमा नै सात दलको तर्फबाट धर्ना जारी रहेको छ । धर्ना कार्यक्रममा मधेश प्रदेश सभाका सदस्यहरु, दलका नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेका थिए । 

तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नेपालको संविधानको धारा १६८ को उपधारा ३ अनुसार मधेश प्रदेश सभामा सबैभन्दा ठूलो दलका संसदीय दलका नेताको हैसियतले नेकपा एमालेका संसदीय दलका नेता सरोज कुमार यादवलाई कार्तिक २३ गते मुख्यमन्त्रीमा नियुक्त गरेर २४ गते शपथग्रहण महोत्तरीको कालापथ्थर जङ्गलमा रहेको एक रिसोर्टमा गराउनु भएको थियो । 

सात दलले ७४ जना प्रदेश सभाको समर्थन रहेको भन्दै संविधानको धारा १६८ को उपधारा २ को आधारमा बहुमतीय सरकार बनाउने अवस्था हुँदा हुँदै गलत नियतले उपधारा ३ प्रयोग गरेर नेकपा एमालेको नेतृत्वमा सरकार बनाउने काम भएको भन्दै सात दलका नेताहरू त्यही दिन देखि विरोधमा रहेका छन् ।   

प्रतिक्रिया राख्नुहोस्

Back to top button