तोकिएकाे समयभित्र लक्ष्य हासिल गर्नेगरी काम गर्न प्रधानमन्त्री कार्कीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले चालु आर्थिक वर्षको स्वीकृत वार्षिक कार्यक्रम र कार्ययोजनाहरु निर्धारित समयभित्र तोकिएका लक्ष्य हासिल गर्नेगरी काम गर्न मातहतका सबै निकायका प्रमुखहरूलाई निर्देशन दिनुभएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अन्तर्गतका निकायहरूको आर्थिक वर्ष २०८२/८३ मा सञ्चालित कार्यक्रमहरूको प्रथम त्रैमासिक अवधिको प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा प्रधानमन्त्री कार्कीले चालु आर्थिक वर्षको समीक्षा अवधिसम्म खर्च प्रतिशत सन्तोषजनक नदेखिएको बताउनुभयो ।
प्रधानमन्त्री कार्कीले समीक्षा अवधिसम्म प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र मातहतका निकायहरूको खर्च प्रतिशत सन्तोषजनक नदेखिएकोले बाँकी अवधिमा सम्बन्धित सबै निकायका प्रमुखले आ–आफूले सम्पादन गर्नुपर्ने कार्यलाई प्राथमिकता र तीव्रताका साथ अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।
उहाँले भदौ २३ र २४ गते जेन्जी आन्दोलनको समयमा भएको तोडफोड र आगजनीबाट सार्वजनिक संरचना तथा सम्पत्तिमा भएको क्षति लगायतका कारण समीक्षा अवधिमा सम्पन्न गर्नुपर्ने कतिपय काम कारबाहीहरूसमेत प्रभावित देखिएको बताउनुभयो ।
प्रधानमन्त्री कार्कीले जेन्जी आन्दोलनको सन्दर्भमा भएको तोडफोड र आगजनीबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय भवनमा भएको क्षति र अन्य भौतिकलगायत सम्पूर्ण क्षतिको विवरण यथाशीघ्र अद्यावधिक गर्ने र अन्तर्गतका निकायहरूमा समेत भएको सम्पूर्ण क्षतिको एकीकृत विवरणको प्रतिवेदन तयार गन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई निर्देशन दिनुभयो ।
उहाँले विद्युतीय खरिद प्रणाली (e–GP System) सार्वजनिक निकायको खरिद कार्यसँग सम्बन्धित Server स्तरोन्नतिका लागि आवश्यक पर्ने IT Equipment खरिद कार्य निर्धारित समयमै सम्पन्न गर्नुपर्ने आवश्यकता रहेको औल्याउदै अर्थ मन्त्रालयलाई समयमै राय उपलब्ध गराउने व्यवस्था मिलाउन निर्देशन दिनुभयो ।
प्रधानमन्त्री कार्कीले ग्रे लिष्टबाट नेपाललाई बाहिर निकाल्न नियमनकारी, अनुसन्धानकारी तथा अन्य सम्बद्ध निकायहरूबाट सम्पादन भएका काम कार्यवाहीहरूको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आवश्यक सहजीकरण, समन्वय एवम् अनुगमन गर्नुपर्ने आवश्यकता रहेको औँल्याउनुभयो ।
सुशासनयुक्त र भ्रष्टाचारमुक्त राष्ट्र निर्माणप्रति वर्तमान सरकार कटिबद्ध र प्रतिबद्ध रहेको भन्दै प्रधानमन्त्री कार्कीले सार्वजनिक निकायबाट सम्पादन भएका काम कार्यवाही निष्पक्ष, सहज र सेवाग्राहीमैत्री भए नभएको निगरानी तथा अनुगमन गर्न राष्ट्रिय सतर्कता केन्द्रलाई थप पहल गर्न निर्देशन समेत दिनुभयो ।
सम्माननीय प्रधानमन्त्रीज्यूको सम्बोधन








प्रतिक्रिया राख्नुहोस्