राष्ट्रिय परिचयपत्रका लागि बाँके प्रशासन कार्यालयमा दैनिक भीड
बाँके । जिल्ला प्रशासन कार्यालय बाँकेमा राष्ट्रिय परिचयपत्र बनाउन सेवाग्राहीको भीड दैनिक रूपमा बढिरहेको छ । बिहान सबेरैदेखि हातमा फारम र कागज बोकेर सयौँ नागरिकहरू लाइनमा उभिएका देखिन्छन् । वृद्ध, युवती, साना बच्चासहित आम नागरिक परिचयपत्र बनाउन कार्यालय धाइरहेका छन् ।
सरकारी सेवासुविधा, सामाजिक सुरक्षा भत्ता, राहदानी, बैंक खाता लगायतका कामका लागि परिचयपत्र अनिवार्य भएपछि सेवाग्राहीको संख्या दिनदिनै बढ्दो छ ।
प्रशासकीय अधिकृत रामकुमार सोनखरका अनुसार दैनिक दुई सयदेखि तीन सय जना सेवाग्राही परिचयपत्र बनाउन आउँछन्, जसमा करिब ३५ प्रतिशत ज्येष्ठ नागरिक छन् । उहाँले सामाजिक सुरक्षा भत्ता लिन अनिवार्य परिचयपत्रको आवश्यकता बढेकाले भीड बढेको बताए ।
भीड व्यवस्थापनका लागि कार्यालयले पछिल्ला दिनहरूमा कार्यालय समयपछि पनि सेवा दिइरहेको छ । अहिले बेलुकी ६ बजेसम्म पनि परिचयपत्रसम्बन्धी काम भइरहेकाछन् ।
सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले जनशक्ति अभावबीच पनि सेवा सहज बनाउने प्रयास भइरहेको बताए । उनका अनुसार दैनिक ४०–४५ जना पासपोर्ट बनाउन आउँछन् भने नागरिकता सेवामा पनि भीड बढेको छ ।
केही सेवाग्राहीले फारम भर्न बाहिर पैसा तिर्नुपरेको गुनासो गर्दै कार्यालयभित्रै सहयोग कक्षको व्यवस्था गर्न आग्रह गरेका छन् ।
सेवाग्राहीहरूले लामो लाइन र खर्चिलो प्रक्रियाको असुविधा भए पनि राष्ट्रिय परिचयपत्र बनाउन पाउँदा सन्तोष व्यक्त गरेका छन् । उनीहरूका अनुसार परिचयपत्र स्थानीय तहमै बनाउन सकिने व्यवस्था भए जनतालाई सहज हुने थियो ।
हाल बाँके प्रशासन कार्यालय नागरिकहरूको “पहिचान बनाउने केन्द्र” जस्तै बनेको छ, जहाँ हरेक दिन सयौँ नागरिक आफ्नो अस्तित्व राज्य प्रणालीसँग जोड्न लाइनमा उभिन्छन् ।








प्रतिक्रिया राख्नुहोस्