सुर्खेतमा करिब दुई हजार नयाँ मतदाता थपिए

सुर्खेत । आगामी फागुन २१ गतेका लागि प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति घोषणा भएसँगै नयाँ मतदाता थपिने क्रम जारी रहेको छ ।
सुर्खेतमा आयोगद्वारा सञ्चालित फोटोसहितको मतदाता नामावली सङ्कलन तथा अद्यावधिक गर्ने कार्यमा युवायुवतीले उत्साहजनक सहभागिता जनाइरहेका छन् । मङ्गलवारसम्म १ हजार ८ सय १७ जना नयाँ मतदाता थपिएको प्रदेश निर्वाचन कार्यालयका प्रदेश निर्वाचन अधिकारी नन्दराम चौलागाईले जानकारी दिनुभयो ।
उहाँले कार्तिक २५ गतेसम्म सुर्खेतमा १ हजार १ सय ३९ जना पुरुष र ६ सय ७८ जना महिला मतदाता थपिएको बताउनुभयो ।
उहाँका अनुसार निर्वाचन कार्यालयबाट हरेक दिन बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म मतदाता नामावली सङ्कलन तथा अद्यावधिक भइरहेको छ । अधिकांश १८ देखि २५ वर्ष उमेर समूहका नयाँ मतदाता बढी थपिएका छन् ।
सुर्खेतमा २०८१ चैत ३० गते सम्म २ लाख ४४ हजार ६ सय ७६ मतदाता थिए । त्यसमा १ लाख ९९ हजार ३ सय ८९ जना पुरुष, १ लाख २५ हजार २ सय ८७ जना महिला थिए ।
अहिले नामावली सङ्कलनका क्रममा नयाँ मतदाता नामावलीमा नाम दर्ता गर्ने, विगतमा भएको नामावलीमा त्रुटि सच्याउने, नाम सार्ने, नाम हटाउने र दाबी विरोध गर्ने गर्नेलगायतका कार्यहरू भइरहेको प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी हिरानन्द पोखरेल बताउनुभयो ।
आयोगले गत असोज ९ गतेदेखि सञ्चालन गरेको नामावली सङ्कलनको कार्य यही कात्तिक ३० गतेसम्म जारी राख्नेछ ।








प्रतिक्रिया राख्नुहोस्