तपाईँ सुन्दै हुनुहुन्छः

इलाम अस्पतालका लागि इमर्जेन्सी ब्लक निर्माण सम्झौता 

इलाम । इलाम नगरपालिकाले भारतीय राजदूतावाससँग गरेको प्रस्तावअनुसार इलाम जिल्ला अस्पतालमा इमर्जेन्सी ब्लक निर्माण र आवश्यक उपकरण खरिदका लागि पहिलो चरणको सम्झौता सम्पन्न भएको छ।

२०७९ सालमा नगरपालिकाले भारतीय राजदूतावास समक्ष पठाएको प्रस्तावका आधारमा १९ करोड ७५ लाख रुपैयाँ बराबरको भवन निर्माण तथा उपकरण खरिदका लागि सम्झौता पत्रमा (२०८२ कात्तिक २४ गते, 2025 November 10) इलाम नगरपालिकाको तर्फबाट नगर प्रमुख केदार थापा र दूतावासका प्रतिनिधिबीच हस्ताक्षर गरिएको हो।

नगरपालिकाका अनुसार अब टेन्डर प्रक्रिया चाँडै अघि बढाइनेछ र निर्धारित समयमा निर्माण कार्य सम्पन्न हुने विश्वास व्यक्त गरिएको छ।

इलाम जिल्ला अस्पताल पूर्वी नेपालको मुख्य स्वास्थ्य उपचार केन्द्र हो, जसले इलाम मात्र नभइ पाँचथर, ताप्लेजुङ र आसपासका जिल्लाका बिरामीहरूलाई पनि सेवा प्रदान गर्दै आएको छ। 

प्रतिक्रिया राख्नुहोस्

Back to top button