तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश तथा स्थानीय तहबीच अन्तर सरकार सम्बन्धका सवालमा छलफल सुरु

सुर्खेत । प्रदेश र स्थानीय तहबिचको सम्बन्धलाई थप व्यवस्थित र एकरुपता ल्याउन सुर्खेत वीरेन्द्रनगरमा आजदेखि ‘प्रदेश तथा स्थानीय तहबीच अन्तर सरकार सम्बन्धका सवालमा छलफल तथा अन्तरक्रिया’ सुरु भएको छ । 

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आयोजनामा आजदेखि दुई दिनसम्म वीरेन्द्रनगरमा सञ्चालन हुने ‘प्रदेश तथा स्थानीय तहबीच अन्तर सरकार सम्बन्धका सवालमा छलफल तथा अन्तरक्रिया’ को उद्घाटन मुख्यमन्त्री यामलाल कँडेलले गर्नुभयो । 

उहाँले संविधानको मर्मअनुसार समन्वय, सहकार्य र सहअस्तित्वको आधारमा तीनै तहका सरकार अगाडि बढ्नुपर्ने बताउनुभयो । संविधानको भावनाअनुसार प्रदेश र स्थानीय तहका सरकारबीचको सम्बन्धलाई थप समन्वयात्मक ढङ्गले अघि बढाउन प्रदेश सरकारले विषयगत छलफल तथा अन्तरक्रिया सञ्चालन गरेको बताउनुभयो ।

अन्तरक्रियामा सरकारको नियमित कामकारबाहीका विषयमा गाउँपालिका तथा नगरपालिका राष्ट्रिय महासङ्घ नेपालका पदाधिकारीहरूसँग पनि बसेर छलफल गरिने जनाइएको छ ।  

कर्णाली प्रदेश सरकारका प्रमुख सचिव वीरेन्द्रनारायण यादवले एउटै जिल्लाबाट सात हजारभन्दा बढी योजना आउने संस्कृतिले विकासको अपरिहार्यता पहिचान हुन नसकेको बताउनुभयो । 

राजस्व बाँडफाँड, विशेष, समपूरक, ससर्त अनुदानको कार्यान्वयनमा आएका समस्या, स्थानीय तहका कर्मचारी व्यवस्थापन, कानुन निर्माण र कार्यान्वयन सम्बन्धमा बृहत् छलफल गरी आगामी नीति, बजेट तथा कार्यक्रम तर्जुमाको मार्ग तयार गर्ने प्रमुख सचिव यादवले बताउनुभयो । 

अन्तरक्रियामा दश जिल्लाका समन्वय समिति प्रमुख/उपप्रमुख तथा २५ नगरपालिकाका नगरप्रमुख÷उपप्रमुख र ५४ गाउँपालिकाका अध्यक्ष/उपाध्यक्षसहित प्रमुख सचिवदेखि पालिकाका प्रमुख प्रशासकीय अधिकृतहरूको सहभागिता रहेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button