तपाईँ सुन्दै हुनुहुन्छः

जङ्गली हात्तीको आक्रमणबाट चालकको मृत्यु 

वीरगञ्ज पूर्व पश्चिम राजमार्ग अन्तर्गत बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर –१६ काटघाट स्थित सडक खण्डमा आज बिहान जङ्गली हात्तीको आक्रमणबाट ट्रक चालकको घटनास्थलमै मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार आज बिहान पूर्व–पश्चिम राजमार्गको काटघाट स्थित सडक खण्डमा अचानक आइपुगेको जङ्गली हात्तीले सवारीसाधनहरूमा आक्रमण गरेको थियो । सो क्रममा ना.४ ख १८३० नम्बरको ट्रकका चालक जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर –१ निवासी करिब ४० वर्षका राजकुमार चौधरी हात्तीको आक्रमणमा परेका हुन् ।

प्रहरीका अनुसार हात्तीले ट्रकमा आक्रमण गर्न थालेपछि चौधरी ट्रकबाट उत्रेर भाग्ने क्रममा राजमार्गदेखि करिब १०० मिटर दक्षिणतर्फ हात्तीले लखेटेर आक्रमण गर्दा उनको घटनास्थलमै मृत्यु भएको थियो ।

घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय निजगढबाट प्रहरी निरीक्षक जीवन लामिछानेको कमान्डमा सात जनाको टोली घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय बाराका निमित्त प्रवक्ता प्रहरी निरीक्षक खेमप्रसाद नेपालले जानकारी दिनुभयो ।

हाल हात्तीलाई जङ्गलतर्फ धपाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button