उप–महानगर छेउकाे उपेक्षित बस्ती, किङ्गरियनपुरवाको जनजीवन अझै अँध्यारोमा
बाँके । नेपालगञ्ज बजारको चिल्ला सडक, ठूला घर र बत्तीले झलमल सहरबाट करिब सात किलोमिटर पूर्व–दक्षिणतिर निस्कँदा एक बस्ती भेटिन्छ किङ्गरियनपुरवा । नाममा ‘उप–महानगर’, तर हालतलाई हेर्दा अझै पनि कुनै भुलिएको गाउँजस्तै । धुलाम्मे बाटो, हिलोका गल्ली र छेउछाउमा फैलिएको अँध्यारो नै यहाँको पहिचान बनेको छ ।

जसपा नेपालका बाँके सहसचिव तथा स्थानीय राहिल किङ्गरिया मुस्कुराउनुहुन्छ–तर त्यो मुस्कानभित्र पीडाको गहिरो रेखा झल्किन्छ । उहाँ भन्नुहुन्छ,“हाम्रो गाउँमा त नामको मात्रै उप–महानगर आएको हो ।” राहिलको स्वर गम्भीर बन्छ,“यहाँ कसैको घरमा शौचालय छैन । बिहानीपख मानिसहरू सडकको छेउमा नै जान बाध्य छन् । त्यसैले हरेक वर्ष बस्तीमा रोग फैलिन्छ, बालबालिकाले सधैँ ज्वरो र पेट दुखाइ सहनुपर्छ ।”
उहाँको आँखामा थकान देखिन्छ, निराशा र अपेक्षाबिचको द्वन्द्व । “राजनीतिक दलका सरकारहरू आए, गए तर हाम्रो गाउँसम्म उनीहरूको नजर कहिल्यै पुगेन । विकासका योजना परै जाओस्, कसैले यहाँका जनताको पीडा बुझ्ने प्रयाससमेत गरेन,”उहाँको भनाई छ । तर त्यसैबीच राहिलको स्वरमा फेरि हल्का आशाको किरण झल्किन्छ,“जेन–जी सरकार बनेपछि हामीले फेरि विश्वास गर्न थालेका छौँ । अब हाम्रो बस्तीमा पनि विकासको उज्यालो आउला भन्ने आशा पलाएको छ ।”

राहिलका ती शब्दहरूमा मात्र होइन, सम्पूर्ण किङ्गरियनपुरवाको दुःख र प्रतीक्षा पोखिएको छ । उप–महानगरको नक्सामा त बस्ती समावेश भएको छ, तर विकासको नक्सामा उनीहरू अझै पनि अदृश्य छन् ।
रफिक किङ्गरियाको बिहानी दाउराको भारीसँग सुरु हुन्छ । बजारमा बेच्न पाए मात्रै घरमा चुल्हो बल्छ । उहाँ भन्नुहुन्छ,“दाउरा बेच्न नपाए परिवार भोकै सुत्छ ।,” यही पिडा हो बस्तीका अधिकांश परिवारको जहाँ रोजगारी होइन, अवसरको कमी नै अभिशाप बनेको छ । यहाँका महिलाहरूका हातमा न त सीप छ, न रोजगारीको विकल्प । कोही घाँस र दाउरा बेच्न जान्छन्, कोही माग्न । केही त घरमै बस्छन्, किनभने काम गर्ने ठाउँ छैन ।
एक महिलाले गुनासो गर्दै भन्नुभयो,“हाम्रो यहाँ स्कुल छ तर शिक्षक आउँदैनन्, स्वास्थ्य सेवाबाट वञ्चित छौँ । हाम्रो बस्ती सहरमा छैन जस्तो आभास हुन्छ ।”
किङ्गरियनपुरवा रैदास, किङ्गरियन, घँसियारन र चिडिमार समुदायको बस्ती हो । ती समुदाय, जसलाई समाजले बिस्तारै बिर्सँदै गएको छ । कसैले ‘कबाड बटुल्ने’, कसैले ‘दैनिक ज्यालादारी गर्ने’, कसैले ‘सहरका गल्लीमा श्रम बेच्ने’ यिनै कामले चलिरहेको छ यहाँको जीवन । तर युवाहरूको आँखा अझै पनि आशाले भरिएका छन् ।
नेपालगञ्ज सहरको विकास–इतिहास पुरानो छ । २०१९ सालमा नगर पञ्चायत बनेको यो सहरलाई उप–महानगर बन्न पाँच दशकभन्दा बढी लाग्यो । तर पाँच दशकको विकास–यात्राले किङ्गरियनपुरवाको अँध्यारो हटाउन सकेको छैन ।
नेपालगञ्ज उप–महानगर अहिले प्रदेशकै गौरवको प्रतीकका रूपमा चिनिन्छ । तर किङ्गरियनपुरवाका नागरिकका लागि त्यो गौरव ‘सहरका भित्तामा टाँसिएको पोस्टर’ मात्र हो । एक वृद्ध महिला भन्नुहुन्छ,“सहरले उप–महानगरको मापदण्ड पूरा गर्यो होला, तर हाम्रो जीवनमा कुनै परिवर्तन आएको छैन,” उहाँले भन्नुभयो,“हामी अझै त्यही माटोमा, त्यही समस्यामा छौँ ।”
नेपालगञ्ज उप–महानगरपालिकाका मेयर प्रशान्त बिष्ट भन्नुहुन्छ,“किङ्गरियनपुरवालाई जुन स्तरमा विकास गर्नु पर्थ्यो त्यो हुन सकेको छैन । अबका दिनमा यो बस्ती र समुदायलाई विशेष प्राथमिकतामा राखेर काम गर्नेछु ।”








प्रतिक्रिया राख्नुहोस्