मधेसका करिब ५ लाख बालबालिकालाई भिटामिन ए र जुकाको औषधी खुवाइँदै
जनकपुरधाम । देशभर आजदेखि भिटामिन ए तथा जुकाको औषधि खुवाउने अभियान आजदेखि सुरु भएको छ ।
मधेस प्रदेशमा पनि आजदेखि रहेका ६ महिनादेखि ५वर्षमुनिका बालबालिकाहरूलाई आज र भोली गरेर दुई दिनसम्म भिटामिन ए तथा १ वर्ष माथिकालाई जुकाको औषधि खुवाउने कार्यको सुरु गरिएको छ ।
नेपाल सरकारको विशेष अभियान अन्तर्गत मधेस प्रदेशका ४ लाख ८९ हजार ७ सय २२ जना बालबालिकालाई भिटामिन ए क्याप्सुल खुवाइँदै छ ।
खानामा सबै प्रकारको तत्त्व प्राप्त नहुने भएकाले थप भिटामिन प्रदान गर्नका लागि भिटामिन ए कार्यक्रम मधेस प्रदेशका १ सय ३६ पालिकामा नै एकसाथ सुरु गरिएको मधेस प्रदेशका स्वास्थ्य निर्देशनालयका पोषण अधिकृत विनोद यादवले जानकारी दिनुभयो ।
मधेस प्रदेशमा त्यसभन्दा अलिकम अर्थात् १ वर्षभन्दा माथिको बालबालिकालाई भिटामिन ए सँगै जुकाको औषधि खुवाउने कार्यक्रम रहेको पोषण अधिकृत यादवले जानकारी दिनुभयो ।
मधेस प्रदेशमा भिटामिन ए खुवाउनका लागि सबै पालिका तथा सो पालिकामा रहेको महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई परिचालन गरिएको छ । दुई दिनसम्म विशेष अभियानको रूपमा चल्ने यस कार्यक्रम कुनै कारणले छुटेकाहरूलाई ७ दिनसम्म खोजेर भिटामिन खुवाउने कार्यक्रम रहेको मधेस प्रदेशका स्वास्थ्य निर्देशक सरोजचन्द्र न्यौपानेले जानकारी दिनुभयो ।
मधेस प्रदेशमा भिटामिन ए खाने उमेर समूहको सबैभन्दा बढी बालबालिकाहरू धनुषामा रहेका छन् । धनुषा जिल्लामा मात्र ७२ हजार ४ सय १९ जना बालबालिका रहेको छन् भने सबैभन्दा कम पर्सा जिल्लामा ५० हजार ६ सय २९ जना बालबालिकाहरू भिटामिन ए खानका लागि योग्य रहेको पनि निर्देशनालयको तथ्याङ्कमा उल्लेख छ ।
यसका साथै सप्तरी जिल्लामा ५२ हजार ८ सय ३२, सर्लाही जिल्लामा ६६ हजार ७ सय ७९, बारा जिल्लामा ५९ हजार ६ सय ९७, सिराहा जिल्लामा ५९ हजार ३ सय ३९, महोत्तरीमा ५७ हजार २ सय २२ र रौतहट जिल्लामा ७० हजार ८ सय ५ जना रहेको मधेस प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
यसैबीच मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनार “सोनल” मधेसका कुनै पनि बालबालिका यस अभियान अन्तर्गत भिटामिन ए तथा जुकाको औषधि खानबाट नछुटोस् भन्नेतर्फ सम्बन्धी सबैमा अपिल समेत गर्नुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्