तपाईँ सुन्दै हुनुहुन्छः

राजमार्गमै हाटबजार, दुर्घटनाको जोखिम बढ्यो

रौतहट । रौतहटको चन्द्रनिगाहपुर–गौर सडकखण्डको विभिन्न स्थानहरूमा सडकमै पसल राखेर हाटबजार सञ्चालन हुने क्रम बढ्दै जाँदा दुर्घटनाको जोखिम बढेको छ । 

राजमार्गसँगै व्यापार गर्ने प्रवृत्तिले यातायात व्यवस्थापन अस्तव्यस्त बनाएको छ भने पैदल यात्रु र सवारी चालक दुवैको सुरक्षामा खतरा निम्त्याएको स्थानीयले बताएका छन् । प्रत्येक हप्ता लाग्ने हाटबजारका दिन चन्द्रनिगाहपुर बजार, डुमरिया बजार, हर्षह चोक, झाँझ पुल, शिवनगर बजार हुँदै सदरमुकाम गौरसम्मका सडक खण्डमा सडकमै व्यापारिक गतिविधि बढ्ने गरेको हो । ती स्थानमा व्यापारीहरूले राजमार्गकै किनारमा पसल सर्ने गरेकाले सडक साँघुरो बन्ने र आवागमनमा अवरोध सिर्जना हुने गरेको छ । कतिपय ठाउँमा त बजारको भीडका कारण सवारीसाधन चल्नै नसक्ने अवस्था हुने गरेको गरुडाका स्थानीय प्रह्लाद साहले बताउनुभयो ।

शिव नगरका व्यापारी जोगेन्द्र साहका अनुसार, सडक किनारमै हाटबजार चल्दा सवारी दुर्घटनाको जोखिम अत्यधिक छ । “राजमार्गमा बजार लाग्दा साना सवारी साधन गुड्नै सक्दैनन् । प्रहरी र पालिकाले वर्षौंदेखि हेपाहा व्यवहार गरेका कारण अहिले समस्या गम्भीर बन्दै गएको छ,” साहले भन्नुभयो । 

हाटबजार लाग्ने दिन ट्राफिक प्रहरीको उपस्थिति भए पनि व्यवस्थापन हुन नसकेको स्थानीय रमेश यादवले बताउनुभयो । “हाट लाग्ने बेला सडक नै अवरुद्ध हुन्छ । पसल सर्ने, जनताको भीड, ठेला–रेडी र पशु बजारका कारण सडक प्रयोग गर्नै मुस्किल हुन्छ । अब सम्बन्धित पालिका र ट्राफिक प्रहरी कार्यालयले तुरुन्त पहल गर्नुपर्छ,” यादवको भनाइ छ ।

स्थानीयवासीका अनुसार, यसरी हाटबजार व्यवस्थित ठाउँमा सार्न सकिएमा दुर्घटनाको जोखिम घट्ने मात्र होइन, यातायात सुचारु र व्यापार पनि सुरक्षित हुने विश्वास छ । उहाँहरूले सडकखण्डको दुवै किनारमा चेतावनी बोर्ड राख्ने, बजारका लागि छुट्टै स्थान तोक्ने र हाटबजार लाग्ने दिन ट्राफिकको विशेष योजना बनाउन माग गर्नुभएको छ । 

यस विषयमा सम्बन्धित स्थानीय तह र जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरले आवश्यक ध्यान नदिए जनजीवन र सवारीसुरक्षामा गम्भीर संकट आउने स्थानीय बासिन्दाको भनाइ छ । यता जिल्ला ट्राफिक प्रहरी प्रमुख राजेन्द्र थापा मगरले आफु भर्खरै आएको र यो समस्या देखा परेको पालिकाहरूसँग समन्वय भइरहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button