निगालोको चोयाबाट उत्पादन हुने सामग्री लोपोन्मुख अवस्थामा
बाजुरा। परम्परागत रूपमा घर–घरमा प्रयोग हुने निगालो र बाँसका सामग्री अहिले लोपोन्मुख बन्दै गएका छन्।

बजारमा नयाँ–नयाँ प्लास्टिकका सामान र सस्तो वैकल्पिक वस्तुको प्रयोग बढेसँगै निगालो र बाँसको चोयाबाट तयार गरिने परम्परागत सामग्री भेट्टाउनै मुस्किल हुने अवस्था आएको छ।

बाजुराको बडीमालिका नगरपालिका–६ का पवन विकका अनुसार “पहिले गाउँमा हरेक घरमा डालो, नाङ्ग्लो, छाप्री, कुरु बनाइन्थ्यो। अहिले ती सामग्रीको माग घट्दै गएको छ। उचित मूल्य नपाउँदा बनाउने पेसा पनि हराउँदै गएको छ।”
बाजुरा लगायत सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी जिल्लामा निगालो तथा बाँसको प्रशस्त स्रोत हुँदाहुँदै पनि यसको उपयोग घट्दै गएको स्थानीयहरूको भनाइ छ। निगालोको चोयाबाट बनाइने सामग्रीहरू वातावरणमैत्री र दीर्घकालीन प्रयोगका लागि उपयुक्त भए पनि बजारमा मूल्य नपाउँदा र आधुनिक सामग्रीसँग प्रतिस्पर्धा गर्न नसक्दा परम्परागत सीप हराउने अवस्थामा पुगेको हो।

स्थानीयले सरकारले परम्परागत हस्तकला र सीप संरक्षणका लागि योजना ल्याए मात्रै यो सीप संरक्षण गर्न सकिने व्यवसायीहरूको भनाइ छ।






प्रतिक्रिया राख्नुहोस्