चिसो बढे सँगै बेँसी झर्न थाले भेडीगोठ
बाजुरा। बाजुरा लगायत सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च हिमाली भूभागमा चिसो बढेसँगै भेडीगोठ बेँसी झार्ने क्रम सुरु भएको छ।

कात्तिकको पहिलो सातादेखि यहाँका गाउँहरूमा तापक्रम घट्न थालेपछि चरनका लागि घाँस अभाव हुन थालेको र अत्यधिक चिसोका कारण भेडाबाख्रा पालन कठिन बन्दै गएपछि भेडापालक किसानहरू औल ९बेँसी० तर्फ झर्न थालेका हुन्।
जिल्लाको पूर्वी उत्तरी क्षेत्रका स्थानीय बासिन्दाहरूले पुराना पुस्तादेखि नै मौसमअनुसार भेडीगोठ सार्ने परम्परा कायम राख्दै आएका छन्। हिउँदको समयमा भेडाबाख्रा लिएर तल्लो बेँसी क्षेत्रतर्फ जाने र चैत–वैशाखको समयमा गर्मी बढेपछि पुनः उच्च भूभागतर्फ फर्कने चलन रहेको छ।
पहिलेका समयमा भेडीगोठ सार्दा गोठालाहरूले बाटोमा भेटिने गाउँका बासिन्दासँग दैनिक उपभोग्य सामग्री—नुन, तेल, चामल आदिको साटासाट गर्ने परम्परा थियो। तर अहिले सडक सञ्जाल विस्तारसँगै यस्ता सामानहरू सजिलै गाडीमार्फत घरमै पुग्ने भएकाले पुरानो चलन बिस्तारै हराउँदै गएको छ।
सामुदायिक वन व्यवस्थापनका कारण चरनका क्षेत्र सीमित हुँदै गएपछि भेडाबाख्रा चराउन कठिनाइ थपिएको स्थानीय गोठालाहरू बताउँछन्। यसले भेडापालन व्यवसाय नै सङ्कटमा पार्ने अवस्था आएको भेडापालक किसानहरूको गुनासो छ।
भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बाजुराका अनुसार हाल बाजुरामा करिब ६ सय ७३ भेडीगोठ रहेका छन्, जसमा करिब ४१ हजार भेडाबाख्रा पालिन्छन्। चरन अभाव र युवा पुस्ता वैदेशिक रोजगारतर्फ आकर्षित हुन थालेका कारण पछिल्ला वर्षहरूमा भेडापालनको सङ्ख्या घट्दै गएको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बाजुराका प्रमुख सिद्धराज जैशिले बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्