विभिन्न कार्यक्रमसहित मैथिली महाकवि विद्यापतिको स्मृति दिवस सम्पन्न
जनकपुरधाम । मैथिली साहित्यका महाकवि, कवि कोकिल विद्यापतिको स्मृति दिवस जनकपुरधाममा विभिन्न कार्यक्रमको आयोजना गरी मनाएको छ ।

जनकपुरधामको विद्यापति चोकमा रहेको विद्यापति स्मृति पर्व समितिको आयोजनामा सम्पन्न भएको स्मृति दिवस समारोहमा लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले विद्यापतिका रचना कालजयी भएकाले धेरै भाषाका साहित्यकारले आफ्नै भाषाका महाकविको रुपमा स्वीकार गरेको बताउनुभयो ।
उहाँले मैथिली भाषालाई रोजगारीसँग जोडेको खण्डमा मात्र विद्यापति प्रतिको सच्चा श्रद्धाञ्जली हुने बताउँदै यसका लागि प्रदेश सरकारले काम गर्न जरुरी रहेको बताउनुभयो ।
मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनार (सोनल) ले विद्यापतिका हरेक रचना विश्वका साहित्यकारका लागि धरोहर भएको बताउँदै शिवका महाभक्त भएका कारणले कार्तिक धवल त्रयोदशीका दिन उहाँको परिनिर्वाण भएको बताउनुभयो ।
मुख्यमन्त्री सोनलले “देशिल वयना सवजन मिठा” शब्दले नै विद्यापतिको महान् दीर्घकालीन शोचलाई उजागर गर्ने काम भएको बताउँदै उहाँमा भएको अद्भूत प्रतिभाका कारणले विश्व साहित्यले धेरै ग्रन्थहरू प्राप्त गर्नमा सफल भएको बताउनुभयो ।
मधेश प्रदेश सभाका निवर्तमान प्रदेश सभाका सदस्य परमेश्वर साहले मैथिली भाषा तथा साहित्यको समृद्धि र विकासका लागि रोजगारीसँग जोड्न जरुरी रहेको बताउँदै प्रदेश सरकारले मैथिलीलाई कामकाजको भाषाको रुपमा वैधानिक निर्णय गर्नका लागि माग गर्नु भयो ।
विद्यापति स्मृति पर्व समिति समारोह समितिका अध्यक्ष त्रिदेव मिश्रको अध्यक्षतामा भएको सो कार्यक्रममा विद्यापति ट्रष्टका पूर्व अध्यक्ष चन्द्रमोहन चौधरी, जिउँदो सहिद रामानन्द चौधरी, लोसपाका प्रवक्ता डा. आभास लाभ (ललन) र प्राध्यापक अवधेश चौधरी सहितका वक्ताहरूले विद्यापतिका विषयमा बोल्नुभएको थियो ।
कार्यक्रममा शत कवि काशीकान्त झा, कवयित्रीहरू विभा पाण्डे, आस्था झा तथा शिवानी मिश्र सहितले विद्यापतिका विषयमा कविता वाचन गर्नुभएको थियो ।







प्रतिक्रिया राख्नुहोस्