भोलिदेखि नारायणी किनारमा हुने खेलकुद तथा व्यापार महोत्सवको तयारी पुरा

चितवन । नारायणी नदी किनारमा भोलि (मङ्गलवार) देखि सुरु हुने खेलकुद तथा बृहत् व्यापार महोत्सवको तयारी पुरा भएको छ । आयोजक चितवन जिल्ला खेलकुद विकास समितिले तयारी पुरा भएको जानकारी दिएको छ ।
मङ्सिर २ गतेसम्म चल्ने महोत्सवको भोलि बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बिहान ११ बजे उद्घाटन गर्नुहुने कार्यक्रम रहेको छ । त्यसअघि बिहान ९ बजे झाँकीसहितको शोभा यात्रा निकालिने आयोजकले जानकारी दिएको छ । महोत्सव परिसरबाट सुरु हुने शोभायात्रा लीलाचोक, पोखरा बसपार्क, क्षेत्रपुर, लायन्सचोक, शहिदचोक, पुलचोक हुँदै पुनः महोत्सव परिसरमा पुगेर सकिनेछ ।महोत्सवमा निकालिने झाँकी मध्य उत्कृष्ट ३ लाई क्रमशः ३०, २० र १० हजार रुपैयाँले पुरस्कृत गरिनेछ ।
यस्तै उद्घाटनको अवसरमा विभिन्न खेलको डेमोन्स्ट्रेसन प्रस्तुत गरिने चितवन जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजन कार्कीले जानकारी दिनुभयो । कार्कीका अनुसार उद्घाटनमा कराँते, तेक्वान्दोलगायतका खेलाडी र प्रशिक्षकहरूले डेमो प्रस्तुत गर्नेछन् ।
महोत्सव परिसरमा व्यापारिक, कृषि, नेपाली उत्पादन, खाजालगायतका लागि ३ सय भन्दा बढी स्टल निर्माण गरिएको छ । तीन दिनको लगातारको वर्षाले केही असर गरे पनि दुई सिफ्टमा गरेर काम गरिएको महोत्सव संयोजक विकल क्षेत्रीले बताउनु भयो । महोत्सव परिसर भित्र प्रवेशका लागि लन्डन ब्रिज निर्माण गरिएको छ । दर्शकहरूले मुख्य प्रवेशद्वारमा टिकट लिएपछि लन्डन ब्रिज चढेर भित्र प्रवेश गर्नेछन् ।
लन्डन ब्रिजबाट भित्र प्रवेश गरेपछि दर्शकहरूले चितवनमा नै पहिलो पटक महोत्सव परिसर भित्रै दुबई सिटी, बुर्ज खलिफा, बुर्ज अल अरब, पेरिसको आइफिल टावरको अवलोकन गर्न पाउनेछन् । यसका लागि कुनै अतिरिक्त शुल्क नलाग्ने उहाँले बताउनु भयो ।
महोत्सवमा बिच भलिबल, कराँते, तेक्वान्दो, कबड्डी, ब्याडमिन्टन, सेपाकताक्रो, एथ्लेटिक्स, बुद्धिचाललगायतका खेलहरू खेलाइनेछ । यस्तै नेपाली खेलकुदमा योगदान पुराएका विभिन्न विधाका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरूलाई महोत्सवकै दौरान सम्मान गरिने आयोजकले जनाएको छ । महोत्सवका लागि अवलोकनकर्तालाई एक सय रुपैयाँको टिकटको व्यवस्था गरिएको छ । विद्यार्थीलाई ७० रुपैयाँ र अपाङ्गता भएका तथा ज्येष्ठ नागरिकका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।








प्रतिक्रिया राख्नुहोस्