डडेल्धुराको भागेश्वर गाउँपालिकामा मङ्गलवार सार्वजनिक बिदा
डडेल्धुरा । डडेल्धुराको भागेश्वर गाउँपालिकाले मङ्गलवार सार्वजनिक बिदा दिएको छ । कार्तिक १८ गते वैकुण्ठ चतुर्दशीका दिन भागेश्वर मन्दिर धुरामा लाग्ने मेलाको अवसर पारेर गाउँपालिकाले सार्वजनिक बिदा दिएको हो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीदत्त भट्टद्वारा जारी सूचनामा उक्त दिन अत्यावश्यक सेवा बाहेक गाउँपालिकाको कार्यालय लगायत मातहतका सम्पुर्ण कार्यालयहरू सार्वजनिक बिदा रहने उल्लेख छ ।
भागेश्वर मन्दिरमा वर्षको चार पटक पूजा गर्ने प्रचलन भए पनि वर्षमा दुई पटक भव्य मेला लाग्ने गर्दछ । मेला ‘श्रावण शुक्ल पूर्णिमा’ दिन अर्थात् रक्षाबन्धनका दिन दिउँसो र ‘कार्तिक शुक्ल चतुर्दशी अथवा वैकुण्ठ चतुर्दशी’का दिन राती लाग्ने गर्दछ । यसैको नामबाट भागेश्वर गाउँपालिकाको नामाकरण समेत गरिएको गाउँपालिका अध्यक्ष हेमराज चटौतले बताउनुभयो ।
समुद्री सतहदेखि २००२ मिटर अग्लो महाभारत पहाडमा रहेको उक्त मन्दिर सुदूरपश्चिम क्षेत्रकै प्रसिद्ध धार्मिक क्षेत्र हो । भागेश्वर देवताको दर्शन गर्न सुदूरपश्चिमका नौ वटै जिल्ला लगायत भारतको कुमाउ गडवाल क्षेत्रबाट पनि धर्मावलम्बी आउने गर्दछन् ।








प्रतिक्रिया राख्नुहोस्