पर्सा,बारामा रोपिने सुगन्धी कस्तुरी धान लोप हुने अवस्थामा
वीरगञ्ज । मिठो बास्ना, सानो दाना,स्वादिलो चामलका रूपमा पर्सा,बारा लगायत मध्य तराईमा रोपिने सुगन्धी कस्तुरी धान अहिले लोप हुने अवस्थामा पुगेको छ । नेपालको तराईका केही जिल्लामा मात्र पाइने छुट्टै पहिचान बोकेको यस धानको खेती नगण्य हुँदा सुगन्धी कस्तुरीको उत्पादनमा निकै नै कमी आएको छ ।
स्थानीय जातको बहुमूल्य चामल मानिने सुगन्धी कस्तुरीको मूल्य बजारमा पाईने बासमती,कालानमक चामलभन्दा महँगो छ । ठुलाबडाको प्रमुख रोजाई तथा पाहुनाको स्वागतको राम्रो परिकारका रूपमा लिइने भएकाले बजारमा यसको माग अत्यधिक छ तर कम उत्पादन, रोग तथा किराको प्रकोप तथा ढिलो तयार हुने हुँदा यसको खेती कमैले गर्ने गरेका छन् ।
पर्सागढी नगरपालिका–५ का कृषक भुवन पौडेलले भन्नुभयो, “पहिला पहिला आफूले २ बिगाहा सुगन्धी कस्तुरी धान लगाउने गरेको भएपनी उत्पादनमा कमी हुने कारणले सुगन्धी कस्तुरी धान लगाउन छाडियो ।”
कृषक रामाकान्त चौधरीले खाँदा अति स्वादिष्ट तथा बास्नाले भरिपूर्ण भएको सुगन्धी कस्तुरी धानलाई लोप हुनबाट बचाउन विशेष चासो लिनुपर्ने बताउनुभयो । यसको संरक्षणका लागि कृषि ज्ञान केन्द्र, स्थानीय, प्रदेश, केन्द्र सरकारले किसानका लागि केही नगरेको उहाँको गुनासो छ ।
सिँचाइको व्यवस्था भएको खेतमा मात्र लाउन सकिने, धान फल्न बढी समय लाग्ने, कम उत्पादन हुने लगायतका समस्याले गर्दा अहिले कृषकले यो धान लाउन छाडेका छन् ।
कृषि ज्ञान केन्द्र पर्साका प्रमुख राम जीवन ठाकुरले सुगन्धी कस्तुरी, कालानमक धानको प्रवर्धनका लागि कृषि ज्ञान केन्द्रले मसिना तथा बास्नादार धानको प्रवर्धनको कार्यक्रम सञ्चालन गरेको बताउनुभयो । उहाँले चालु आर्थिक वर्ष २०८२/०८३ मा रैथाने धान प्रवर्धनका कार्यक्रम राखिएको समेत बताउनुभयो ।
पर्सा जिल्लाको पर्सागढी नगरपालिका,सखुबा प्रसौनी, र पटेर्बा सुगौली गाउँपालिका तथा वीरगन्ज महानगरपालिकाको ग्रामीण क्षेत्रमा सुगन्धी कस्तुरी धान लगाइएको छ ।








प्रतिक्रिया राख्नुहोस्