११ दिनदेखि बेपत्ता भएका सुनार मृत भेटिए
हुम्ला । सिमकोट गाउँपालिका–३ बरगाउँका ५३ वर्षीय पर्वसिंङ सुनार मृत अवस्थामा भेटिएका छन् ।
११ दिनदेखि बेपत्ता भएका सुनार आज दिउँसो सिमकोट गाउँपालिका–३ बरगाउँस्थित बाखा चाल्न भन्ने स्थानमा मृत अवस्थामा भेटिएको मृतकका ज्वाइँ धनविर सुनारले बताउनुभयो ।
सुनार कात्तिक ३ गते बिहान घरबाट सदरमुकाम सिमकोटका लागि हिँडेका थिए । घरका लागि विद्युतको मिटरबक्स किनेर फर्कने भन्दै घर छोडेका सुनार अन्ततः ११ दिनपछि बरगाउँको लव्ली डाँडाभन्दा केही तल खसेर मृत्यु भएको अवस्थामा भेटिएका छन् ।
लामो समयसम्म सुनार घर नफर्किएपछि घरपरिवारले कात्तिक ११ गते जिल्ला प्रहरी कार्यालय हुम्लामा खोजिविनका लागि निवेदन दिएका थिए । निवेदन दिए लगतै प्रहरी प्रशासन र घरपरिवारले खोजी गरेको थियो ।
सुनारको शव भेटिएको भन्ने जानकारी आए लगतै प्रहरी निरीक्षक विष्णु श्रेष्ठ नेतृत्वको टोली घटनास्थलतर्फ गएको प्रहरी नायब उपरीक्षक शङ्कर पोखरेलले बताउनुभयो । उनको शवलाई पोस्टमार्टमका लागि सदरमुकाम सिमकोट ल्याइने भएको प्रहरीले जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्