तपाईँ सुन्दै हुनुहुन्छः

गण्डकी प्रदेशमा यसै वर्ष शतप्रतिशत विद्युत् पहुँच पुग्ने 

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रप्रसाद पाण्डेले यसै आर्थिक वर्षभित्र प्रदेशका सबै बस्तीमा शतप्रतिशत विद्युत् पहुँच पुर्‍याउने बताउनुभएको छ । 

उपभोक्ता हित संरक्षण मञ्च नेपालले आज( शुक्रबार) पोखरामा आयोजना गरेको ‘विद्युत् उपभोक्ताको अधिकार र हालको कानुनी व्यवस्था’ विषयक अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री पाण्डेले बाँकी रहेका दुर्गम क्षेत्रहरूमा सौर्य (सोलार) र लघु जलविद्युत परियोजना मार्फत विद्युत् विस्तारको काम तीव्र गतिमा भइरहेको जानकारी दिँदै यसै वर्ष उज्यालो प्रदेश घोषणा गरिने जनाउनुभयो । 

नेपाल विद्युत् प्राधिकरणलाई प्रदेश सरकारले उक्त अभियान सफल पार्न ७२ करोड रुपैयाँ भुक्तानी दिने गरी सम्झौता गरेबमोजिम केही स्थानमा विद्युतको पहुँच यही आर्थिक वर्षभित्र पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । 

मुख्यमन्त्री पाण्डेले हालैको जेन–जी आन्दोलनका कारण प्रदेशमा करिब ५ अर्ब रुपैयाँ बराबरको क्षति भएको उल्लेख गर्दै त्यसमा निजी क्षेत्रको अन्दाजी ३ अर्ब रुपैयाँको क्षति पुगेको बताउनुभयो । प्रभावित क्षेत्र र व्यवसायीलाई राहत दिलाउनका लागि प्रदेश सरकार गृहकार्य गर्दै रहेको उहाँले जनाउनुभयो । 

विद्युत् नियमन आयोगका अध्यक्ष डा.राम प्रसाद धितालले ६० लाख घर परिवारमा विद्युत् लाइन जडान भएको बताउनुभयो । विद्युत् अत्यावश्यक सेवाभित्र पर्ने विद्युत् लाइन काट्दा धेरै क्षेत्रलाई असर पर्ने उहाँले उल्लेख गर्नुभयो । तोकेको मात्र भोल्टेजमा विद्युत् दिन सके प्रति युनिट ९ः४० रुपैयाँमा झार्न सकिने धितालले जनाउनुभयो ।  

गण्डकी प्रदेशमा प्रमुख सचिव डण्डुराज घिमिरेले जलविद्युतको क्षेत्राधिकार स्थानीय र प्रदेश सरकारलाई प्रस्टसँग तोक्नुपर्ने माग गर्नुभयो । 

मञ्चका अध्यक्ष ज्योति बानियाँले नेपालमा हाल केही उद्योगहरूमा विद्युत् लाइन काटेर समस्याको समाधान नहुने भन्दै समाधानका लागि वार्ता र छलफलबाट विवाद टुङ्ग्याउनुपर्ने बताउनुभयो । 

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले प्रदेश सरकार व्यवसायीहरूको पिर मर्कामा तथा कठिन अवस्थामा नजिकको सरकारको अनुभूति गराउन नसकेको गुनासो गर्नुभयो । जेनजी आन्दोलनमा तोडफोड र आगजनी गर्ने उपर कारबाहीसहित क्षतिपूर्ति भराउन उहाँले मुख्यमन्त्री पाण्डे समक्ष माग गर्नुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button