तपाईँ सुन्दै हुनुहुन्छः

मेची राजमार्गको माई खोला-राज दुवाली सडक आंशिक रुपमा खुल्यो 

इलाम । वर्षापछि अवरुद्ध मेची राजमार्ग अन्तर्गत माई खोला राज दुवाली सञ्चालनमा आएको छ । स्थानीय प्रशासनले इलाम जिल्लाभर मेची राजमार्गमा बिहीबार साँझ ७ बजे देखि शुक्रबार बिहान ६ बजेसम्मका लागि सवारी सञ्चालनमा रोक लगाएको थियो । निरन्तरको वर्षापछि बिहान खुला गरिने भने पनि सडक अवरुद्ध भएको थियो । मर्मतपछि साना सवारी एकतर्फी सुचारु गरिएको छ । 

शनिबार इलाममा लोकसेवा परीक्षा भएकोले इलामको राजमार्ग सुचारु गर्नेबारे गम्भीर भएको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले बताउनुभयो । माई खोला राज दुवाली सडक निरन्तरको बर्षाले भासिने, दबिने र चिरिने भइरहेको कारण रोक लगाएको सडक लोकसेवा परीक्षा भएको कारण केही मर्मत गरि मोटरसाइकल र जीप आज साझ ५:३० बजे सम्मको लागि खुलाइएको जिल्ला प्रशासनले सूचना नै जारी गरेको छ । अन्य सवारी सञ्चालनबारे अर्को सूचना जारी नभए सम्म सडक बन्द नै रहने सूचनामा उल्लेख गरिएको छ । भोली इलाम केन्द्रमा लोकसेवा परीक्षा दिन आउनेहरूले अनिवार्य परिचय पत्र र प्रवेश पत्र अनिवार्य साथमा राख्नुपर्ने प्रशासनले जनाएको छ । 

निरन्तरको वर्षापछि सडक अवरुद्ध हुँदा लोकसेवा परीक्षा केन्द्र इलाममा आउने परीक्षार्थी अन्योलमा रहेका थिए । यद्यपि, परीक्षा पूर्व निर्धारित भएको र सञ्चालन हुने लोकसेवा आयोग इलामका प्रमुख पुष्कर भट्टराईले बताउनुभयो । लोकसेवा परीक्षामा २४ सय ४६ जना सहभागी हुँदै छन् । ११ वटा केन्द्रमा परीक्षा सञ्चालन हुने जनाइएको छ । 

असोज १८ गतेको बाढी पहिरोपछि मेची राजमार्ग अन्तर्गत माई खोला राज दुवाली खण्ड सहित विभिन्न सडक खण्डमा जोखिम कायमै छ । बाढीपहिरोले कमजोर भएको जमिनमा जोखिम बढ्ने भएपछि स्थानीय प्रशासन, स्थानीय सरकार लगायत सरोकारवाला सबैले सजग रहन आग्रह गरिरहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button