डडेल्धुरा कारागारबाट भागेका पाँच कैदीबन्दी अझै फरार
डडेल्धुरा । डडेल्धुरा कारागारमा भएको आगजनी र तोडफोडपछि भागेका ८५ जना कैदीबन्दीमध्ये पाँच जना अझै फरार रहेका छन्। हालसम्म ८० जना पक्राउ परेका जिल्ला कारागार शाखा प्रशासक प्रमुख सन्तोषकुमार भट्टले जानकारी दिनुभयो।
गत भदौ २३–२४ गते देशभर चर्किएको जेनजी आन्दोलनपछि २५ गते बिहान कैदीबन्दीहरूले आफ्ना सरसामानमा आगो लगाई कारागारको गेट फोरेर फरार भएका थिए। त्यसपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले विभिन्न ठाउँबाट तीमध्ये अधिकांशलाई नियन्त्रणमा लिएका थिए।
कारागार प्रशासक भट्टका अनुसार कारागारमा कुल १२७ जना कैदीबन्दी रहेका थिए। तीमध्ये ८५ जना भागेका र हाल कारागारमा १२२ जना कैदीबन्दी रहेका छन्। पाँच जना अझै फरार रहेको र उनीहरूको खोजतलास जारी रहेको उहाँले बताउनुभयो।
फरार पाँच कैदीबन्दीमध्ये चार जना जबरजस्ती करणीसम्बन्धी मुद्दामा र एक जना कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका थिए। जबरजस्ती करणी मुद्दाका चार जनामध्ये दुई जनाको ठेगाना बैतडी जिल्ला, एक जनाको डडेल्धुरा र एक जनाको डोटी जिल्ला रहेको छ। कर्तव्य ज्यान मुद्दा लागेका फरार कैदीबन्दीको ठेगाना भने डडेल्धुरा नै हो।
जिल्ला कारागार प्रशासनका अनुसार फरार कैदीबन्दीमध्ये दुई जना बैतडी, दुई जना डडेल्धुरा र एक जना डोटी जिल्लाका हुन्।








प्रतिक्रिया राख्नुहोस्