छठ पर्वका लागि सजावट गरिएको पोखरी, ताल र नदी किनारमा गरियो सफाइ
काठमाडौँ । सूर्य उपासना, स्नान, व्रत र भजन सङ्गीतसँग जोडिएको पर्व छठ श्रद्धा र भक्तिभावका साथ सकिएसँगै काठमाडौँ महानगरपालिकाले सरसफाइको काम पनि सम्पन्न गरेको छ ।
उक्त पर्व सम्पन्न भएसँगै छठ घाट निर्माणका लागि प्रयोग गरिएको सामग्रीहरू पोखरी, दह तथा नदी किनारमा विशेष सरसफाइ कार्य गरिएको कामपा प्रशासन विभागका प्रमुख ध्रुवकुमार काफ्लेले जानकारी दिनुभयो ।
यस वर्षका लागि कामपाले महानगरभित्र कमलपोखरी (वडा १), गौरीघाट (वडा ७ र ८), बोक्सी दह (वडा १४), बागमती दोभान (वडा ३२), टङ्केश्वर (वडा १३), बल्खु कुमारी क्लब अगाडि (वडा १४), कुलेश्वर भलिबल ग्राउन्ड (वडा १४), रामघाट (वडा २०) र बालाजु २२ धारा (वडा १६) गरी नौ वटा घाटलाई मुख्य उपासना स्थलका रूपमा तयारी गरेको थियो । तीनै स्थानमा स्वच्छता कायम गर्न महानगरले विशेष सरसफाइ गरिसकेको काफ्लेले जानकारी दिनुभयो । कामपाका सफाइ कर्मचारी र महानगर प्रहरी परिचालन गरी पोखरी, ताल र नदी किनारमा रहेका फोहर पूर्ण रूपमा हटाइएको छ ।
विगत वर्षहरूमा जस्तै यस वर्ष पनि महानगरले उपासना स्थल व्यवस्थापन, सजावट र सरसफाइलाई प्राथमिकतामा राख्दै कार्य सम्पन्न गरेको छ । महानगरको सक्रियताले भक्तजनहरूले स्वच्छ र सौन्दर्यपूर्ण वातावरणमा सूर्य उपासना सम्पन्न गरेको हो ।






प्रतिक्रिया राख्नुहोस्