तपाईँ सुन्दै हुनुहुन्छः

हिमपातका कारण च्छो– रोल्पा यात्रामा जोखिम

दोलखा। दोलखाको रोल्वालिङ क्षेत्रमा हिमपात सुरु भएपछि च्छो– रोल्पा यात्रामा निस्किएका तीन सय बढी पर्यटक बेदीङ र ना गाउँमै रोकिएको स्थानीयले बताउनुभएको छ। 

सोमवार बेलुकाबाट हिमपात भएपछि च्छो– रोल्पा यात्रामा रहेका तीन सय बढी पर्यटक बेदीङ र ना गाउँमा रोकिएको पत्रकार अर्जुन पाख्रिनले बताउनुभयो। बेदीङको माथिल्लो भागमै पनि हिमपात भएकोले ना गाउँबाट अघि बढ्न सक्ने अवस्था नरहेको बेदीङमा रहेका पत्रकार पाख्रिनले बताउनुभयो । बेदीङबाट ना गाउँसम्म जान सकिने अवस्था भए पनि ना गाउँबाट च्छो– रोल्पा जान सक्ने अवस्था नरहेको पत्रकार पाख्रिनको भनाई छ । 

च्छो– रोल्पा यात्रामा डोरीको सहाराले खोला तर्दै पर्यटक

बेदीङको स्थानीय होटेल व्यवसायी छिरिङ शेर्पा आफ्नो होटेलमा २५-३० जना पर्यटक रहेको र ना गाउँमा सोमबार बेलुकाबाट फोन सम्पर्क हुन नसक्दा च्छो– रोल्पा जान सकिने नसकिने बारे अन्योल देखिएको बताउनुहुन्छ । आफ्नो होटेलमा रहेका पर्यटक मध्य केही भने च्छो– रोल्पा पुगेर फर्किएको छिरिङले बताउनुभयो ।

चार हजार पाँच सय ८० मिटरको उँचाइमा रहेको च्छो– रोल्पा हिमताल पुग्न लामाबगरको छ्योत– छ्योतबाट पैदल हिँड्नुपर्ने हुन्छ । छ्योत– छ्योतसम्म भने बस वा साना सवारी साधनमा जान सकिन्छ । 

दोलखाको गौरीशङ्कर गाउँपालिका वडा नम्बर– ९ मा पर्ने च्छो– रोल्पा यात्राको लागि छ्योत– छ्योतबाट सिमिगाउँ करिब दुई घण्टा, सिमिगाउँबाट सुरमुचे तीन घण्टा, सुरमुचेबाट क्याल्चे दुई घण्टा, क्याल्चेबाट डोङनाङ एक घण्टा, डोङनाङबाट थाङदिङ करिब तीन घण्टा, थाङदिङबाट बेदीङ दुई घण्टा, बेदीङबाट ना तीन घण्टा र नाबाट च्छो– रोल्पा तीन घण्टाको पैदल यात्रामा पुग्न सकिने स्थानीयको भनाई छ । 

अहिले सिमिगाउँबाट नासम्मै खाने र बस्ने सुविधा रहेकोले पर्यटकलाई समस्या नहुने सुरमुचेका होटेल व्यवसायी बोलेन्द्र आचार्यले बताउनुभयो । गत वर्षको बाढीले रोल्वालिङ पदमार्गमा पर्ने ठिङलुङ खोलाको पुल बगाएपछि अस्थायी रूपमा तीन ठाउँमा काठको पुल राखिएकोमा त्यो पनि बाढीले बगाएपछि यात्रामा जोखिम बढेको स्थानीयको भनाई छ । अहिले बिजुलीको पोलबाट डोरी समाएर खोला वारपार गर्नुपर्ने स्थानीय बताउँछन् । 

सोमबार रातिबाट अत्यधिक पानी र हिमपात भएको कारण अहिले आवत– जावतमा झन् समस्या देखिएको सुरमुचेका व्यवसायी बोलेन्द्र आचार्य बताउँछन् । 

दोलखाका प्रमुख जिल्ला अधिकारी भोला दाहालले च्छो– रोल्पा यात्रामा रहेका दुई सय बढी पर्यटक हिमपात पछि बेदीङ र ना गाउँमा बसेको र उनीहरूलाई मौसममा सुधार नभएसम्म सुरक्षित रहन अनुरोध गरिएको बताउनुभयो । मङ्गलवार च्छो– रोल्पा जान चाहेका पर्यटकलाई भने गौरीशङ्कर संरक्षण क्षेत्रको सिंगटी कार्यालयको समन्वयमा मौसममा सुधार नभएसम्म नजान अनुरोध गर्दै रोकिएको प्रमुख जिल्ला अधिकारी दाहालले बताउनुभयो । 

लप्चीमा पनि हिमपात

हिमपातले ढाकिएको लप्ची गुम्बा

दोलखाकै विगु गाँउपालिका वडा नम्बर– १ को लप्चीमा पनि सोमवार रातिबाट हिमपात सुरु भएको स्थानीय कर्म शेर्पाले बताउनुभयो । लप्चीका चौरी व्यवसायीहरू लुमनाङ झरिसेकेकोले हिमपातले धेरै प्रभावित भने नभएको कर्मा शेर्पाले बताउनुभयो । 

लप्चीका चौरी व्यवसायीहरूले केही दिन अघि मात्र झन्डै दुई सय चौरी चीनको तिब्बत तर्फ लगेर बिक्री गरेको शेर्पाले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button