तपाईँ सुन्दै हुनुहुन्छः

लार्केपास जाँदै गरेका सयभन्दा बढी विदेशी पर्यटक साम्दोमा हिमपातका कारण रोकिए

गोरखा । गएराति देखि परेको हिमपातका कारण लार्केपासका लागि हिँडेका पर्यटकहरू साम्दो क्षेत्रमा रोकिएका छन् । मनास्लु क्षेत्र भ्रमण गर्ने कोही पनि पर्यटकहरू वीच बाटोमा नफसेका र सबै सुरक्षित रहेका छन् । 

आज बिहानै एक समूहले लार्केपास गरेर फेदी पुगेका छन् । विच बाटोमा मानिसहरू कोही पनि नभएको सूचना आएको साम्दोबाट पर्यटन व्यवसायी निमा लामाले जानकारी दिनुभयो । 

लार्केपासका लागि अन्तिम गाउँ साम्दो हो । आज लार्के पासका लागि हिँड्न लागेका सय भन्दा धेरै विदेशी पर्यटकहरू साम्दोमा रहेका लामाको भनाई छ । 

हिमपात अहिले सम्म एक मिटर भन्दा धेरै भएको छ । पर्ने क्रममै रहेकाले मौसम सफा नहुँदा सम्म माथिल्लो क्षेत्र जान सशस्त्र प्रहरी सिमा सुरक्षा बलले समेत रोक लगाएको छ । आफूहरू पाहुना लिएर साम्दोमा अडिएको लार्केपासका लागि विदेशी पर्यटक सहित पुगेका दिनेश गुरुङले जानकारी दिनुभयो । टेलिफोन र इन्टरनेट भने जाने आउने भइरहेको स्थानीयले जानकारी दिएका छन् । टेलिफोनको टावर सोलार प्रणालीबाट चल्ने भएकाले लामो समय सम्म घाम नलागे सञ्चार सम्पर्क हुन नसक्ने वडा अध्यक्ष कर्मा छेवाङ लामाले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button