उच्च हिमाली क्षेत्रमा हिउ पार्न थाल्यो, पदयात्रा नगर्न प्रशासनको आग्रह
पोखरा। नेपालका उच्च हिमाली क्षेत्रमा हालको प्रतिकूल मौसमका कारण हिउँ परेको छ। तिहारको लामो बिदा र राम्रो मौसमको अवसरमा पदयात्रामा निस्केका केही पर्यटकहरू हालको मौसम परिवर्तनले असुविधामा परेका छन्।
मनाङ, मुस्ताङ, बागलुङ, गोर्खा र म्याग्दीका उच्च भेगमा बिहानैदेखि हिउँ परिरहेको छ भने पोखरा आसपास क्षेत्रहरूमा बिहादेखि पानी परिरहेको छ।
जिल्ला प्रशासन कार्यालय मुस्ताङले अहिलेको प्रतिकूल मौसमका कारण पदयात्रा नगर्न अनुरोध गरेको छ। जल तथा मौसम विज्ञान विभागले बुधबारसम्म वर्षा र हिमपातको सम्भावना रहेको चेतावनी जारी गरेपछि प्रशासनले पर्यटकलाई सतर्क रहन आग्रह गरेको हो।
प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालका अनुसार अहिलेको मौसमीय अवस्था अस्थिर भएकाले पर्यटक र स्थानीय दुवैलाई उच्च क्षेत्रमा यात्रामा नजान तथा नगर्न दिन आग्रह गरिएको हो । “मंगलबारदेखि बुधबारसम्म मुस्ताङका विभिन्न उच्च स्थानहरूमा हिमपात र वर्षाको सम्भावना छ । यस्तो अवस्थामा पदयात्रा गर्नु जोखिमपूर्ण हुन सक्छ,” प्रमुख जिल्ला अधिकारी भुसालले बताउनु भयो ।
मौसम पूर्वानुमान अनुसार, मुस्ताङ–डोल्पा जोड्ने करिब ५,८०० मिटर उचाइको याकखर्क क्षेत्र, मुस्ताङ–मनाङ जोड्ने ५,४०० मिटर उचाइको थोरङ्ला पास, करिब ६,००० मिटर उचाइको सरिबुङ पास र मुस्ताङ–म्याग्दीको धौलागिरि पदमार्गलगायत क्षेत्रमा हल्का देखि भारी हिमपात हुने सम्भावना रहेको विभागले जनाएको छ।
प्रशासनले पर्यटक र तीर्थयात्रीहरूलाई मौसम पूर्वानुमान हेरेर मात्रै यात्रा योजना बनाउन, आवश्यक सामग्रीसहित सावधानीपूर्वक यात्रा गर्न र स्थानीय निकाय वा पर्यटन कार्यालयको सल्लाह लिन सुझाव दिएको छ।








प्रतिक्रिया राख्नुहोस्