तपाईँ सुन्दै हुनुहुन्छः

झापामा छठ पूजामा सेनासहितको संयुक्त सुरक्षा फौज परिचालन गरिने

झापा । झापामा छठ पूजामा सुरक्षा संवेदनशीलतालाई मध्यनजर गरी नेपाली सेनासहितको सुरक्षा फौज परिचालन गरिने भएको छ ।

विगत एक सातादेखि जिल्लाका मुख्य बजारहरूमा परिचालित संयुक्त सुरक्षा गस्तीलाई छठ पूजामा केन्द्रीकृत गरिने भएको हो । झापाका मुख्य बजारहरूमा कात्तिक ३ गतेदेखि नेपाली सेना, सशस्त्र प्रहरी र जनपद प्रहरीले संयुक्तरुपमा गस्ती गर्दै आएका छन् ।

दिन र रात गरी झापामा १२ सिफ्टमा नेपाली सेनाका १५० जना फौजले गस्ती गर्दै आएको श्री अरिदमन गण चारआलीले जनाएको छ । छठ पूजामा मानिसको बढी भिडभाड हुँदा विभिन्न आपराधिक क्रियाकलाप हुन सक्ने भएकाले सेनाको गस्ती टोलीलाई त्यसतर्फ परिचालन गरिने गणले जनाएको छ । गस्तीमा खटिएका सेनाका फौजले जुवातास खेल्ने, पटाका पड्काउनेजस्ता गतिविधि नियन्त्रणमा सहयोग गर्दै आएका छन् ।

त्यस्तै छठ पूजाको दिन जिल्लाभरि ७ सयभन्दा बढी नेपाल प्रहरी परिचालन गरिने जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बढी भिडभाड हुने भद्रपुरको मेची, कनकाईको बिरिङ, बिर्तामोडको अन्धुवा, दमकको रतुवालगायतका ठाउँमा संयुक्त सुरक्षाकर्मी परिचालन गरिने जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो ।

त्यस्तै आवश्यकता अनुसार सशस्त्र प्रहरी पनि परिचालन हुने भएको छ । प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको जिल्ला सुरक्षा समितिको निर्देशन बमोजिम छठ पूजामा सुरक्षाकर्मीहरू खटिने जनाइएको छ ।

यस वर्ष झापाको करिब दुई दर्जन ठाउँमा छठ पूजा हुने भएको छ भने यतिखेर पुजा स्थल सरसफाइ र सजावटका काम भइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button