छठ पर्व नजिकिएसँगै केरा किन्न ग्राहकहरूको भीड
सुनसरी । छठ पर्व नजिकिएसँगै सुनसरीमा केराको कारोबार उल्लेखनीय रूपमा बढेको छ ।
पर्वमा भगवान् सूर्यलाई अर्घ अर्पण गर्न प्रयोग हुने मुख्य प्रसाद ‘केरा’ को माग इनरुवासहित स्थानीय बजारमा अत्यधिक बढेको व्यापारीहरूले बताएका छन् ।

इनरुवा, रामनगरभुटाहा, जल्पापुर, इटहरी, दुहबी नगरपालिका, रामधुनी, कोशी, भाण्टाबारी लगायतका मुख्य बजार देखि ग्रामीण हाट बजारसम्म अहिले केरा किन्ने ग्राहकहरूको भीड देखिएको छ ।
इनरुवाका केरा व्यापारी श्याम यादवका अनुसार यस वर्ष व्यापारीहरूले भारत र अन्य जिल्लाबाट ठूलो परिमाणमा केरा खरिद गरी गोदाममा भण्डारण गरेका छन् ।
गोदाममा पर्याप्त मात्रा केरा उपलब्ध भएकाले यसपटक व्रतालुलाई केराको अभाव नहुने यादवले बताउनुभयो ।
तर, माग बढे सँगै मूल्यमा भने वृद्धि भएको छ । इनरुवा नगरपालिकाका शम्भु यादवका अनुसार अहिले स्थानीय बजारमा केराको प्रतिघरी मूल्य करिब ५ सय देखि १ हजार रुपियाँसम्म पुगेको छ, जुन गत वर्षको तुलनामा उल्लेखनीय रूपमा बढी हो ।
सप्तरी जिल्लाको भारदह तथा सुनसरीको इनरुवाबाट ल्याउने गरिए पनि मालभोग केरा भारतको चम्पारणबाट मगाउने गरिएको छ ।
व्यापारीहरूको भनाइमा सीमावर्ती बजारहरूबाट करिब १ करोड रुपियाँ बराबरको केरा आयात गरिएको छ । स्थानीय व्यापारीहरूले माग अझै केही दिनसम्म बढ्ने अनुमान गरेका छन् ।








प्रतिक्रिया राख्नुहोस्