रौतहटसहित तराई मधेसमा छठ पर्वको भव्य तयारी
रौतहट। पारिवारिक सुख–समृद्धि र सन्तानको दीर्घायुका लागि श्रद्धापूर्वक मनाइने सूर्य उपासना पर्व छठको तयारी यस वर्ष रौतहटसहित सम्पूर्ण तराई–मधेसका जिल्लाहरूमा भव्य रूपमा गरिएको छ ।

हर्षोल्लासका साथ मनाइने यो पर्वको लागि नदी, पोखरी र जलाशयहरूमा घाट निर्माण तथा सजावटको काम अन्तिम चरणमा पुगेको छ ।

छठ पर्वको अवसरमा रौतहटका विभिन्न स्थानहरूमा घाट सजावट र सरसफाइ कार्य तीव्र गतिमा भइरहेको छ । कतिपय स्थानमा तयारी पूरा भइसकेको छ भने बाँकी स्थानहरूमा साँझसम्म सबै तयारी सम्पन्न गर्ने गरी काम भइरहेको स्थानीय समितिहरूले जानकारी दिनुभएको छ । बजारमा पनि पूजा सामग्री खरिद गर्ने श्रद्धालुहरूको भिड बाक्लिएको छ ।बजारमा मिठाई, फलफूल, चिनी, मैदा लगायत र अन्य सामग्री किन्न सर्वसाधारणको चहलपहल बढेको छ ।

रौतहटको वृन्दावन नगरपालिकामा मात्र ३० वटा छठ घाट निर्माण गरिएको नगरप्रमुख विनोदप्रसाद कुर्मीले जानकारी दिनुभयो । उहाँका अनुसार तीमध्ये २० भन्दा बढी घाट निर्माण पूरा भइसकेको छ भने बाँकी घाटहरूमा अन्तिम तयारी जारी छ । त्यस्तै, गौर नगरपालिकाका नगरप्रमुख शम्भु साहका अनुसार सदरमुकाम क्षेत्रमा रहेका छठ घाटहरू पनि निर्माणको अन्तिम चरणमा पुगेको बताउनुभयो ।

यस वर्ष शनिवारबाट छठ पर्व सुरु भइसकेको छ । चार दिनसम्म मनाइने यो पर्वको पहिलो दिन ‘नहाय–खाय’, दोस्रो दिन ‘खरना’, तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ्य र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि पर्वको विधिवत् समापन गरिनेछ । आज व्रतालुहरू नुहाएर अरबा–अरबाइन भोजन गरेर व्रत प्रारम्भ गरिनुभएको छ । भने भोलि साँझ चामल, सक्खर र दूध मिसाएर बनाइएको खीर ग्रहण गरी खरना मनाइनेछ ।

तेस्रो दिन श्रद्धालुहरूले घाटमा गएर अस्ताउँदो सूर्यलाई अर्घ्य दिनेछन् र चौथो दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्व सम्पन्न हुनेछ । श्रद्धा, भक्ति र शुद्धताको प्रतीक यस पर्वको तयारीले अहिले रौतहट र सम्पूर्ण मधेस क्षेत्रमा धार्मिक उत्सवको वातावरण सृजना गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्