तपाईँ सुन्दै हुनुहुन्छः

लोकतान्त्रिक गणतन्त्रविरुद्ध हुने षड्यन्त्र अस्वीकार्य : मुख्यमन्त्री बानियाँ 

भक्तपुर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सङ्कटमा लोकतन्त्रवादी एकै ठाउँमा उभिनुपर्ने बताउनुभएको छ ।

भक्तपुरमा नेपाली कांग्रेस जिल्ला कार्यसमितिले आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा मुख्यमन्त्री बानियाँले जनताको बलिदानबाट स्थापित लोकतान्त्रिक गणतन्त्रविरुद्ध हुने कुनै पनि षड्यन्त्र अस्वीकार्य हुने बताउनुभयो ।

मुलुकले भोगेका सबैखाले सङ्कटका बेला लोकतन्त्रवादीहरू एकै ठाउँमा उभिएको भन्दै उहाँले मुलुकलाई सुशासनको बाटोमा लैजान पनि सबै लोकतान्त्रिक शक्तिहरू एकजुट हुनुपर्ने बताउनुभयो ।

लोकतन्त्रविरुद्ध लाग्नेलाई जनताले गाउँ बस्तीबाट लखेट्ने बताउँदै उहाँले गरिब, मजदुर, किसान लगायत सबै जनताको सङ्घर्षबाट मुलुकमा लोकतान्त्रिक गणतन्त्र स्थापना भएको उल्लेख गर्नुभयो । 

जेनजी आन्दोलनका क्रममा भएको वितण्डालाई भविष्यमा दोहोरिन नदिन वडादेखि केन्द्रसम्म रहेका सबै जनप्रतिनिधि सुध्रनुपर्ने बताउनुभयो । उहाँले जनताले पठाएका प्रतिनिधि ठिक ढंगले चल्न सके कोही पनि डराउनु नपर्ने बताउनुभयो ।

मुख्यमन्त्री बानियाँले लोकतन्त्रले जनतालाई सार्वभौम बनाएको चर्चा गर्दै व्यवस्था परिवर्तन नभई व्यवस्थाभित्र रहेर लुट मच्चाइरहेकाहरूलाई कानुनी दायरामा ल्याउन सबैले भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।

कांग्रेस बागमती प्रदेश सभापतिसमेत रहेका बानियाँले जेनजी आन्दोलन अनियमितता विरुद्धको आवाज थियो भन्दै आन्दोलनमा सहादत प्राप्त गर्नेहरूलाई सम्मानका निम्ति पनि अब राजनीतिक नेतृत्व सुध्रनुपर्ने बताउनुभयो ।

कार्यक्रममा कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले काँग्रेसलाई एकताबद्ध बनाउँदै अघि बढ्नुपर्ने आवश्यक रहेको बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button