तपाईँ सुन्दै हुनुहुन्छः

मार्तडी–कोल्टी सडक खण्डमा चार महिनापछि पुनः बस सेवा सञ्चालनमा 

बाजुरा । बाजुराको सदरमुकाम मार्तडीदेखि पूर्वी उत्तरी भेगको कोल्टीसम्म मङ्गलवारबाट पुनः बस सेवा सञ्चालनमा आएको छ । 

बर्षात सुरु भएसँगै असारको पहिलो सातादेखि रोकिएको बस सेवा चार महिनापछि पुनः सञ्चालनमा आएको हो।

बुढीनन्दा नगरपालिकाका नगरप्रमुख जनक बोहराले सडक खण्ड मर्मत कार्य सम्पन्न भएसँगै आजबाट नियमित बस सेवा सुरु गरिएको जानकारी दिनुभयो । 

उहाँका अनुसार बर्षातका कारण अवरुद्ध बनेको सडकलाई मर्मत गरी यातायात सञ्चालनमा ल्याइएसँगै अब नियमित बस सेवा सञ्चालन हुने र त्यस क्षेत्रका नागरिकलाई यातायातमा सहजता हुने छ । 

मङ्गलवार सदरमुकाम मार्तडीबाट महाकाली यातायात प्रा.लि.को बस कोल्टीका लागि छुटेको छ । यसअघि गत वर्षको पुस महिनाबाट मार्तडी–कोल्टी बस सेवा पहिलो पटक सञ्चालनमा आएको थियो ।

मार्तडी–कोल्टी सडक खण्ड जिल्लाको पूर्वी उत्तरी भेगका चार वटा स्थानीय तहका नागरिकको मुख्य यातायात मार्ग हो । यस मार्ग हुँदै छिमेकी जिल्ला हुम्ला, मुगु र कालिकोटका बासिन्दाले पनि आवतजावत गर्ने गरेका छन् ।

करिब चार महिनादेखि अवरुद्ध यो सडक खण्डको ठाउँ–ठाउँमा गएको पहिरो पन्छाएर असोज दोस्रो सातादेखि मर्मत कार्य सुरु गरिएको थियो । बुढीनन्दा नगरपालिका, बडी मालिका नगरपालिका, जिल्ला प्रशासन कार्यालय बाजुरा र पूर्वाधार विकास कार्यालयको सहकार्यमा सडक पुनः सञ्चालनमा ल्याइएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button