दीपावली मनाउने क्रममा दुई स्थानमा आगलागी,करिब ४० लाख रुपैयाँ क्षति
रौतहट । दीपावली मनाउने क्रममा सोमबार राति रौतहटको दुई स्थानमा भीषण आगलागी भएकाे छ । जिल्लाको मध्यभागमा पर्ने गरुडा नगरपालिका–८ बिर्ता बजारस्थित शुभलक्ष्मी महिमा वस्त्रालयमा भीषण आगलागी हुँदा करिब चालिस लाख रुपैयाँ क्षति भएकाे छ ।
इलाका प्रहरी कार्यालय गरुडाका अनुसार सोमबार राति करिब ९ बजेर ५० मिनेट जाँदा केदारनाथ साहको पक्की घरमा रहेको बिगन साहको उक्त कपडा पसलमा आगो लागेको थियो । आगलागीको सूचना पाएपछि प्रहरी चौकी बिर्ताका हवल्दार राजु साहको कमाण्डमा पुगेको टोलीले स्थानीयवासीको सहयोगमा करिब साढे १० बजे आगो नियन्त्रणमा लिन सफल भएको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी शङ्कर प्रसाद आचार्यले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार पसलभित्र रहेका विभिन्न प्रकारका कपडा र काठका र्याक जलेर आंशिक क्षति पुगेको छ भने मानवीय क्षति भने भएको छैन । स्थानीयका भनाइअनुसार विद्युत् सर्टसर्किटका कारण आगलागी भएको अनुमान गरिएको छ । प्रारम्भिक रूपमा करिब ३५ देखि ४० लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ भने विस्तृत विवरण सङ्कलन कार्य जारी रहेको प्रहरीले जानकारी दिनुभयो ।
यस्तै सोमबार राति करिब ११ बजेतिर यमुनामाई गाउँपालिका–१ सुकदेवचोकमा पनि अर्को आगलागी भएको हो । जेठरहिया निवासी छोटेलाल साहले आफ्नै घरमा सञ्चालन गर्दै आउनुभएको शिवकरण हार्डवेयर स्टोर्समा पूजाका लागि बालिएको मैनबत्ती पगलेर आगलागी भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी कार्कीले बताउनुभयो ।
आगलागीबाट करिब १० लाख रुपैयाँ बराबरको क्षति पुगेको अनुमान गरिएको छ ।
प्रतिक्रिया राख्नुहोस्