तपाईँ सुन्दै हुनुहुन्छः

संवाद, सहकार्य र जनअभिमतको माध्यमबाट समाधान खोज्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह

फाइल तस्बिर

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले दीपावलीको उज्यालोले सबैलाई सत्य, न्याय, सदाचार र मानवताको मार्गमा अघि बढ्न प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ ।

तिहार पर्व–२०८२ का अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले नेपालीहरूको महान पर्व तिहारको पावन अवसरमा देश–विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्नुभएको हो।

“मुलुक हाल अत्यन्त विषम परिस्थितिबाट गुज्रिरहेको यस कठिन घडीमा, तिहारजस्ता पर्वहरूले नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र एकताको भावना अभिवृद्धि गर्न सहयोग पुर्याउने विश्वास व्यक्त गर्दछु”, सन्देशमा भनिएको छ, “हामी बीच रहेका जस्तोसुकै मतभेद वा वैमनश्यताको पनि शान्तिपूर्ण संवाद, सहकार्य र जनअभिमतको माध्यमबाट समाधान खोज्न सकिन्छ भन्ने प्रेरणा यो उज्यालो पर्वले सबैलाई प्रदान गरोस् भन्ने कामना गर्दछु ।”

तिहारसँग अभिन्न रूपमा जोडिएको देउसी–भैलो खेल्ने परम्परा विशुद्ध नेपाली मौलिक संस्कृति भएको र जसले समाजमा एकता तथा भाइचारालाई प्रगाढ बनाउने सन्देशमा उल्लेख छ ।

“यसबाट सङ्कलित कोष सामाजिक र सामूदायिक हितमा लगाउने जस्ता असल परम्परा र अभ्यासलाई हामीले संरक्षण गर्नुपर्दछ”, सन्देशमा भनिएको छ, “साथै,अनावश्यक भड्किलोपन, विलासिता र जुवा–तासजस्ता नकारात्मक अभ्यासबाट टाढा रहँदै, मितव्ययी र संयमित ढङ्गले तिहार मनाउनुपर्छ, जसले गर्दा यस पर्वको मौलिक सामाजिक–सांस्कृतिक मूल्यलाई जोगाउन सकियोस् ।”

तिहार पर्वको अवसरमा मानव जीवनसँग अभिन्न रूपमा जोडिएका काग, कुकुर, गाई र गोरुजस्ता पशुपंक्षीका साथैधन–ऐश्वर्य तथा समृद्धिको प्रतिक देवी लक्ष्मी, प्राकृतिक स्रोतको प्रतिक गोवद्र्धन पर्व र भाइको पूजा गरिनुका साथै देउसी–भैलो खेल्दै नाचगान तथा मनोरञ्जन गर्ने परम्परा रहिआएको सन्देशमा उल्लेख छ । सन्देशमा भनिएको छ, “यसरी तिहार मनाउने हाम्रो मौलिक सांस्कृतिक परम्पराले प्रकृति, मानव जीवन र प्राणी जगतबीचको अन्योन्याश्रित सम्बन्धलाई उजागर गर्नुका साथै दिदीबहिनी र दाजुभाइबीचको आपसी स्नेहलाई गाढा बनाउँदछ ।”

प्रतिक्रिया राख्नुहोस्

Back to top button