तपाईँ सुन्दै हुनुहुन्छः

महाकाली आर्यघाटमा विपिन जोशीको दाहसंस्कार

कञ्चनपुर । हमासको नियन्त्रणमा रहेकै अवस्थामा मारिएका नेपाली विद्यार्थी कञ्चनपुरका विपिन जोशीको मङ्गलवार कञ्चनपुरस्थित महाकाली आर्यघाटमा दाहसंस्कार गरिएको छ । 

मङ्गलवार बिहान ८ बजे महेन्द्रनगरस्थित घरबाट शवयात्रा सुरु गरी महाकाली आर्यघाटमा अन्तिम दाहसंस्कार गरिएको हो । विपिनको शवमा उहाँका बुवा महानन्द जोशी सहित आफन्तहरूले दागबत्ती दिनुभयो भने सशस्त्र प्रहरी बलले सलामी दिएको छ । 

दाहसंस्कारका क्रममा नेपालका लागि इजरायली राजदूत स्मुलिम एरी बास सहित इजरायली प्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो । शवयात्रामा पूर्वपरराष्ट्र मन्त्री एनपी साउद सहित पूर्वसांसदहरू, प्रदेशका मन्त्री तथा सांसदहरू, स्थानीय तहका जनप्रतिनिधि सहित हजारौँ नागरिकहरूको उपस्थिति रहेको थियो ।

विपिनको शव सोमबार राति ०८:१५ बजे कञ्चनपुरको महेन्द्रनगरस्थित घरमा पुर्‍याइएको थियो । सोमबार दिउँसो फ्लाई दुबईको उडानमार्फत विपिनको शव काठमाडौँ ल्याइएको थियो । विपिनको शवलाई प्रधानमन्त्री सुशीला कार्की तथा मन्त्रीहरूसहित सरकारका उच्च अधिकारीहरूले विमानस्थलमा पुगेर श्रद्धाञ्जली दिनु भएको थियो । विपिनको शवलाई सोमबार अपराह्न नै नेपाली सेनाको स्काई ट्रकमार्फत धनगढी पठाई धनगढीबाट शव वाहनमार्फत कञ्चनपुरको महेन्द्रनगरस्थित घरसम्म पुर्‍याइएको हो । धनगढी विमानस्थलमै नेपाली सेनाले औपचारिक रूपमा परिवारका सदस्यलाई शव हस्तान्तरण गरेको थियो । 

हमासले ७ अक्टोबर २०२३ मा इजरायलमा आक्रमण गर्दा विपिनलाई बन्धक बनाइ लगिएको थियो । दुई वर्षसम्म विपिनको स्थिति अज्ञात रहेकोमा गत असोज २७ गते विपिनको मृत्यु भएको पुष्टि गरिएको थियो । हमासले इजरायलमा आक्रमण गर्दा पहिलो दिनमा मात्रै १० नेपाली विद्यार्थीसहित करिब १ हजार २ सयको मृत्यु भएको थियो । विपिनसहित २ सय ५१ जनालाई हमासले नियन्त्रणमा लिई बन्धक बनाएको थियो । 

अमेरिकाको सहजीकरणमा युद्ध विराम भएपछि विपिन सकुशल छुट्ने अपेक्षा गरिएको थियो । तर, जोशीको मृत्यु भइसकेको जानकारी हमासले दिएको भन्दै इजरायली डिफेन्स फोर्स (आईडीएफ) ले नेपाल सरकार, जोशीको परिवार र इजरायलस्थित नेपाली दूतावासलाई जानकारी गराएको थियो । गत सोमबार हमासले विपिनको शव इजरायललाई हस्तान्तरण गरेको थियो । इजरायल सरकारले विपिनका परिवारलाई आफ्नो नागरिकले पाउने सेवा सुविधा उपलब्ध गराउने जानकारी गराएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button