तपाईँ सुन्दै हुनुहुन्छः

विपिन जोशीको पार्थिव शरीर स्वदेश ल्याइयो, प्रधानमन्त्रीसहित उच्च अधिकारीद्वारा श्रद्धाञ्जली अर्पण

काठमाडौँ ।  हमासद्वारा इजरायलमा भएको आक्रमणपछि गाजातर्फ बन्धक बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको पार्थिव शरीर आज अपराह्न २ः३५ बजे इजरायलबाट नेपाल ल्याइएको छ। 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित शोकसभामा प्रधानमन्त्री सुशीला कार्कीले स्व.जोशीप्रति श्रद्धाञ्जली अर्पण गर्दै उहाँको आत्माको चिरशान्तिको कामना गर्नुभयो।

प्रधानमन्त्री कार्कीले शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दै विपिन जोशीको निधनले सम्पूर्ण नेपाली जनमानसलाई गहिरो चोट पुर्‍याएको बताउनुभयो।

शोक सभामा ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री कुलमान घिसिङ, गृहमन्त्री ओम प्रकाश अर्याल, सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल, मुख्य सचिव एकनारायण अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, र नेपालका लागि इजरायली राजदूत H. E. Mr. Shmulik Arie Bass लगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।

स्व.जोशीको पार्थिव शरीर आजै विशेष विमानमार्फत धनगढी पुर्‍याइने र त्यसपछि कञ्चनपुरस्थित उहाँको घरमा अन्तिम संस्कारका लागि लैजाने व्यवस्था मिलाइएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

इजरायलस्थित नेपाली राजदूतावासको समन्वय र इजरायली सरकारको सहयोगमा शव नेपाल ल्याइएको हो।

विपिन जोशी २०२३ अक्टोबर ७ मा हमासको आक्रमणपछि बन्धक बनाइएका थिए। जोशीको निधनको पुष्टि इजरायली सरकारले २०८२ असोज २८ गते (१४ अक्टोबर २०२५) मा औपचारिक रूपमा जानकारी गराएको थियो। सो आक्रमणमा १० जना नेपाली विद्यार्थीहरूको तत्काल निधन भएको थियो।

नेपाल सरकारले विपिन जोशीको सकुशल रिहाइका लागि कूटनीतिक तथा अन्य सबै तहमा प्रयास गरेको जानकारी पनि मन्त्रालयले सार्वजनिक गरेको छ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button