तपाईँ सुन्दै हुनुहुन्छः

एक महिनामा ७५ हजार पर्यटकले गरे मुस्ताङको भ्रमण

मुस्ताङ ।  मुस्ताङमा असोज महिनामा ७५ हजार ५९९ पर्यटकले भ्रमण गरेका छन् । 

दसैँ तथा तिहार पर्वको बिदा अवसरमा मुस्ताङ भ्रमण गर्ने पर्यटकको क्रेज बनेको छ । प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथको दर्शनसँगै हिमाली क्षेत्रको पृथक् भूगोल, यहाँको मनोरम जैविक तथा प्राकृतिक सौन्दर्यता अवलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटक मुस्ताङ भ्रमण गर्न लालायित हुन्छन् । यहाँको नेपाल–चीन बहुचर्चित उत्तरी कोरलानाका, लोमान्थाङ दरबार, छोसेर गुफा, ढुम्बाताल, ठिनी र जोमसोम र मार्फा बस्तीसँगै यहाँको निलगिरी र धौलागिरि हिमशृङ्खला अवलोकन गर्न पाउँदा जोकोही पर्यटकहरू मोहित नहुने त कुरै भएन ।

पछिल्लो समय मुलुकमा जेनजी आन्दोलनका कारण उत्पन्न विषम परिस्थितिमा मुस्ताङको पर्यटन व्यवसाय चलायमान भइरहेको यहाँको पर्यटक तथ्याङ्कले देखाएको छ ।

चालु आर्थिक वर्षको असोज महिना अवधिमा मात्रै राष्ट्रिय गौरवको बेनी—जोमसोम सडक मार्ग हुँदै ६५ हजार ७४० आन्तरिक पर्यटक र ९ हजार ८५९ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी प्रमुख डिएसपी छिरिङ किप्पा लामाले जानकारी दिनुभयो ।

यसैगरी जल तथा मौसम विज्ञान विभागको प्रक्षेपणअनुसार आश्विन १७ देखि २० गतेसम्म वर्षा र हिमपात हुने प्रक्षेपणका कारण आंशिक रुपमा प्रभावित बनेको यहाँको पर्यटन त्यसपछि पुनः चलायमान भएको थियो । जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार २१ असोजदेखि ३१ गतेसम्मको १० दिनको अवधिमा  बेनी–जोमसोम सडक मार्ग हुँदै  ४९ हजार ३७१ जना आन्तरिक तथा बाह्य पर्यटक मुस्ताङ भित्रिएको प्रहरी नायब उपरीक्षक लामाको भनाइ छ । असोज महिनाको पछिल्लो १० दिनको अवधिमा २८ हजार ७५९ आन्तरिक र चार हजार १२४ जना विदेशी पर्यटकले मुस्ताङको भ्रमण गरेको प्रहरी नायब उपरीक्षक लामाको भनाइ छ । 

जेनजी आन्दोलन र मौसम प्रतिकूलतापछि मुस्ताङ भित्रिएका पर्यटकहरू मध्ये आन्तरिक तथा बाह्य पर्यटक गरी १४ हजार ३८९ जना पर्यटकले उपल्लो मुस्ताङको भ्रमण गरेका छन् । जसमध्ये १३ हजार ९२९ जना आन्तरिक र ४५० जना विदेशी पर्यटकले उपल्लो मुस्ताङको भ्रमण गरेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । असोज महिनामा मुस्ताङ भित्रिएका कूल पर्यटक सङ्ख्या मध्ये आन्तरिक तथा बाह्य गरी २० प्रतिशतले मात्रै उपल्लो मुस्ताङको भ्रमण गरेको पाइएको छ ।

यसैगरी गतवर्षको असोज महिनामा कूल ५९ हजार ८३१ जना आन्तरिक तथा बाह्य पर्यटकले मुस्ताङ जिल्लाको भ्रमण गरेका थिए । त्यस महिनामा यहाँ ४७ हजार २९३ जना आन्तरिक र १२ हजार ५३८ जना विदेशी पर्यटकले मुस्ताङको भ्रमण गरेको जिल्ला प्रहरी कार्यालय मुस्ताङको तथ्याङ्कमा उल्लेख छ ।

मुस्ताङमा गतवर्षको तुलनामा यसवर्ष आन्तरिक र बाह्य गरी १५ हजार ७६८ जना अर्थात् (२०.८५) प्रतिशतले पर्यटक सख्या  घटेको देखिएको छ । मुस्ताङमा चालु आवको साउनदेखि असोज मसान्तसम्ममा एक लाख १८ हजार ६८९ जना पर्यटक भित्रिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका अनुसार साउनदेखि असोजसम्ममा ९१ हजार १२५ जना र २७ हजार ४६४ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएका हुन् ।

गत आर्थिक वर्ष २०८१÷८२ मा आन्तरिक तथा बाह्य गरी सात लाख पाँच हजार ७७९ जना पर्यटकले मुस्ताङको भ्रमण गरेका थिए । त्यस वर्ष पाँच लाख ५५ हजार ३२६ जना आन्तरिक र एक लाख ५० हजार ४५३ जना विदेशी पर्यटकले मुस्ताङको भ्रमण गरेका थिए ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button