तपाईँ सुन्दै हुनुहुन्छः

किन अझै पनि देवकोटाका कृति पढिन्छन् ?

काठमाडौँ । नेपाली साहित्यका विराट प्रतिभापुञ्ज महाकवि लक्ष्मीप्रसाद देवकोटाका कृतिहरू आज पनि उत्तिकै रुचाइन्छ । साहित्यका विभिन्न विधामा समानान्तर कलम चलाएर ख्याति कमाएका देवकोटाका शाकुन्तल, सुलोचना, बनकुसुम, प्रमिथसलगायतका चर्चित महाकाव्य आज पनि  सर्वाधिक पढिने कृति हुन् । त्यस्तै मुनामदन त हरेक नेपालीको मन मुटुमा बस्न सफल खण्ड काव्यकृति हो । कुञ्जिनी पनि देवकोटाको चर्चित  खण्डकाव्य  मानिन्छ ।

तत्कालीन समाजको यथार्थ चित्रलाई टपक्क टिपेर विम्ब प्रतीकमा उनिएको पागल शीर्षकको कविता र कुन मन्दिरमा जान्छौ यात्री शीर्षकको गीत देवकोटाका सदाबहार रचना हुन् । के नेपाल सानो छ ? शीर्षकको निबन्ध मार्फत् पोखिएको नेपालको अपार सुन्दरतालाई विद्यालयदेखि विश्वविद्यालय तहसम्म पढेका युवाहरू पनि देवकोटाजस्तो बहुमुखी प्रतिभाका साहित्यकार पाउन मुस्किल भएको बताउँछन् । युवा पुस्ताका कवि सिमरण चालिसे देवकोटालाई आफूले युगान्तकारी स्रष्टाका रुपमा  चिनेको बताउनुहुन्छ । 

साहित्यको सबैभन्दा ठूलो विधा महाकाव्यदेखि खण्डकाव्य, निबन्ध, कविता, नाटक कथा, उपन्यास गीत, गजलमा कलम चलाएर नेपाली साहित्यलाई शिखरमा पुर्‍याउन योगदान गरेका महाकवि देवकोटाले बाल साहित्यमा पनि कलम चलाउनुभएको छ । उहाँका पुतली र सुनको बिहान बाल कृति प्रकाशित छन् । त्यस्तै अनुवादमा समेत देवकोटाको रुचि रहेको पाइन्छ । 

साहित्यको सबै विधामा सिर्जना गर्न सक्ने खुबी भएका महाकवि देवकोटाका  छोरा साहित्यकार डा. पदमप्रसाद देवकोटा आफ्ना बाबुको भाषासँग खेल्न सक्ने क्षमताको यसरी प्रशंसा गर्नुहुन्छ ।  देवकोटामा भएको दूरदर्शीताले सिर्जेका कृतिहरू आजको समयमा पनि सान्दर्भिक हुनु पुगेको उहाँ बताउनुहुन्छ । महाकवि देवकोटाकी छोरी अम्बिकादेवी रिमालचाहिँ कुन मन्दिरमा जान्छौ यात्री गीत आफूलाई अहिलेसम्म पनि निकै मन पर्ने रचना भएको बताउनुहुन्छ । 

त्यतिखेरको समाजमा देखे भोगेका वास्तविकतालाई साहित्यका विविध विधामा पोखेर उत्कृष्ट कृति रचना पस्कन सफल महाकवि देवकोटा नेपालमा मात्रै नभइ विश्व साहित्यमा समेत परिचित नाम हो । प्रकृति चित्रणदेखि बालशुलभतालाई समेत उत्तिकै महत्वका साथ रचनामा भर्न सक्ने देवकोटा युग चेतनाका संवाहक भएको बताउनुहुन्छ समालोचक डा.गोपिरमण उपाध्याय । समालोचक उपाध्यायका दृष्टिकमा त्यतिखेरको स्तुतिगान गाउने प्रचलनको साहित्यमा प्रगतिशील चेतना भर्न देवकोटाको महत्वपूर्ण भूमिका हरेको पाइन्छ । 

काव्यशील्पमा कला र विचारलाई पोख्न सिपालु देवकोटालाई महाकविको उपाधि त्यसै दिइएको होइन । नेपाली साहित्यमा प्रगतिशील र रूपान्तरणकारी सिर्जना दिन सक्ने महाकवि देवकोटापछि पनि थुप्रै स्रष्टा र सिर्जनाहरू आएका छन् । देवकोटाको दूरदर्शी स्वभाव सिर्जनामा  चित्रण भएका कारण आज पनि उनकै कृतिहरू सान्दर्भिक छन् । प्रयोगका हिसाबले देवकोटाको काल यता विभिन्न विधाका कृतिहरू प्रकाशित भइसकेका छन् । नयाँ नयाँ स्रष्टाहरू उदाउँदो छन् तर देवकोटाजस्तो बहु प्रतिभाशाली लेखक साहित्यकार भेटिन मुस्किल नै छ । हुन त सबै स्रष्टाका आ आफ्नै विशेषता हुन्छन् । तिनले सिर्जना गर्ने साहित्य आम पाठकको  मन मुटुमा बस्न कति सफल हुन्छन्  भन्ने  प्रमुख कुरा हो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button