राति ९ः३० बजेपछि देउसी–भैलो कार्यक्रम सञ्चालन नगर्न आग्रह
काभ्रेपलाञ्चोक । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले शुभ दीपावली, नेपाल संवत् ११४६ तथा छठ पर्वको अवसरमा शान्ति सुरक्षामा सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।
जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकका प्रशासकीय अधिकृतद्वारा जारी सूचनामा चाडपर्वका अवसरमा सामाजिक सद्भाव र भाइचारा कायम गर्दै मर्यादित र अनुशासित ढङ्गले सांस्कृतिक कार्यक्रम सञ्चालन गर्न आग्रह गरिएको छ।
सूचनामा सार्वजनिक स्थानमा होहल्ला गर्ने, मादक पदार्थ सेवन गरी अशान्ति फैलाउने, जुवातास, लङ्गुर बुर्जा खेल्ने, पटका, आतसबाजी जस्ता विस्फोटक तथा प्रज्वलनशील पदार्थको प्रयोग, बिक्री वितरण वा ओसारपसार नगर्न अनुरोध गरिएको छ।
यस्ता गतिविधिले शान्ति सुरक्षामा असर पार्ने भएकाले कानूनविपरीत कार्य गरे कारबाही हुने चेतावनी समेत दिइएको छ।
देउसी–भैलो लगायतका सांस्कृतिक कार्यक्रमहरू मर्यादित र व्यवस्थित ढङ्गले सञ्चालन गर्न आग्रह गर्दै राति ९ः३० बजेपछि देउसी–भैलो कार्यक्रम सञ्चालन नगर्न पनि अनुरोध गरिएको छ।

प्रतिक्रिया राख्नुहोस्