तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपतिद्वारा भयरहित वातावरणमा निष्पक्ष निर्वाचन सुनिश्चित गर्न सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले भयरहित वातावरणमा स्वतन्त्र, स्वच्छ र निष्पक्ष निर्वाचन हुन्छ भन्ने विश्वास राजनीतिक दल र आम नागरिकलाई गराउन सरकार र सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिनुभएको छ । 

राष्ट्रपति भवन शीतल निवासमा शनिबार अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीसहित मन्त्रीहरू समेतको सहभागितामा भएको छलफलमा चारै सुरक्षा निकायका प्रमुखलाई पौडेलले यस्तो निर्देशन दिनुभएको  हो ।

उहाँले शान्ति सुरक्षा कायम गर्न र भयरहित वातावरणमा निर्वाचन गराउन सुरक्षा निकायहरूले ‘बोल्ड्ली’ रुपमा प्रस्तुत हुन पनि निर्देशन दिनुभएको राष्ट्रपतिका प्रेस सल्लाहाकार किरण पोखरेलले जानकारी दिनुभयो । राष्ट्रपति पौडेलले भदौ २४ गते लुटिएका हतियार र भागेका कैदीबन्दी सबैलाई अविलम्ब फिर्ता गर्न पनि आग्रह गर्नुभयो । 

अन्तरिम सरकारमा प्रधानमन्त्री कार्कीले स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा चुनाव गराउन सरकारले कुनै कसुर बाँकी नराख्ने बताउनुभयो । उहाँले पूर्ण  तयारीसाथ लाग्न र सुरक्षा निकायलाई चाहिने सम्पूर्ण साधन स्रोत सरकारले उपलब्ध गराउने बताउनुभयो । 

सुरक्षा निकायका प्रमुखहरुले शान्ति सुरक्षा कायम गर्ने र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन सुरक्षा निकाय सक्षम रहेको राष्ट्रपति पौडेललाई विश्वास दिलाउनुभएको थियो । उहाँहरूले  यो भन्दा कठिन परिस्थितिमा  पनि विगतमा शान्तिपूर्वक निर्वाचन सम्पन्न गराएको स्मरण गराउँदै  सुरक्षा निकाय सम्पूर्ण रूपले निर्वाचनका लागि तयार रहेको पनि बताउनुभएको थियो । 

छलफलमा अन्तरिम सरकारका प्रधानमन्त्री कार्की, अर्थमन्त्रीबाहेक सबै मन्त्रीहरूका साथै प्रधानसेनापति अशोक सिग्देल, प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङ, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख टेकेन्द्र कार्कीको सहभागिता थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button