वृद्ध भत्ताका लागि सडकमा बस्न बाध्य वृद्धवृद्धा

रौतहट । रौतहटको चन्द्रनिगाहपुरमा वृद्धभत्ता वितरणका क्रममा बैङ्कहरूले उचित व्यवस्थापन गर्न नसक्दा वृद्धवृद्धाहरू सडकमै बस्न बाध्य बाध्य भएका छन् ।
चन्द्रपुर नगरपालिकाले वृद्ध भत्ताको रकम सम्बन्धित बैङ्कहरूमा पठाएपछि अहिले नगरका विभिन्न स्थानका वृद्धवृद्धाहरु भत्ता बुझ्नका लागि बैङ्क धाउन थाल्नुभएको छ । तर बैङ्कमा बस्ने वा पर्खने उचित व्यवस्था नहुँदा बिहानैदेखि घाम र धुलोमा सडक किनारमै बस्नुपर्ने अवस्था आएको छ ।
चन्द्रपुर नगरपालिका–१० का रामसिरिठ दासले बिहान १०ः०० बजेभन्दा अगाडि नै भत्ता लिन बैङ्क आइपुग्नुभए पनि बस्ने ठाउँ नहुँदा घाममा लामो समय कुर्नु परेको बताउनुभयो । “भत्ता त राज्यले दिएको राम्रो कुरा हो, तर लिन आउँदा पनि यस्तो दुःख पाइने भनेको त के अर्थ ?” उहाँले गुनासो गर्नुभयो ।
प्रत्येक वितरण अवधिमा वृद्धवृद्धाहरुको स्वास्थ्य र सुविधालाई प्राथमिकतामा राख्नुपर्ने समाजसेवी मुकेश गिरीको भनाइ छ । बैङ्क र स्थानीय निकायले सहकार्य गरेर बस्ने ठाउँ, छायाँ र पिउने पानीको व्यवस्था गर्न सकिने भएपनि उचित व्यवस्थापन नहुँदा यस्तो समस्या बारम्बार दोहोरिनु दुखद रहेको उहाँले बताउनुभयो ।
चन्द्रपुरका विभिन्न बैङ्क अगाडिका क्षेत्रहरू यतिबेला वृद्धभत्ता लिन आएका वृद्धवृद्धाहरुको भीडले भरिने गरेको छ । बिहानैदेखि लाइनमा उभिने वृद्धवृद्धाहरुलाई न त बस्ने ठाउँ छ, न त घामबाट जोगिन कुनै छायाँ । कतिपय वृद्धवृद्धा सडकको छेउमै बस्न बाध्य देखिन्छन् ।
सेन्ट्रल फाइनान्स लिमिटेड चन्द्रनिगाहपुर शाखाका प्रतिनिधि राजकिशोर शर्माले बैङ्कभित्र भिडभाड र होहल्ला हुने भएकाले हामीले बाहिरै राखेर पालो पालोमा बोलाएर रकम वितरण गर्ने गरेको बताउनुभयो ।
स्थानीय बासिन्दाहरूले भने बैङ्कहरूले वृद्ध वृद्धाहरूको सहजता र स्वास्थ्यलाई ध्यानमा राखेर पूर्व तयारीसहित भत्ता वितरण कार्यक्रम सञ्चालन गर्नुपर्ने माग गर्नुभएको छ ।
प्रतिक्रिया राख्नुहोस्