तपाईँ सुन्दै हुनुहुन्छः

तिहार: आधुनिकीकरण सँगै झिलिमिली बत्तीको प्रयोग बढ्दो, कुमाल जातिको पेशा सङ्कटमा 

वीरगञ्ज। आधुनिकीकरणसँगै तिहारमा झिलिमिली बत्ती प्रयोग गर्ने चलन बढ्दै गएपछि कुमाल जातिको माटोको पाला र दियो बनाउने पेशा सङ्कटमा परेको छ ।

तर माटोको दियो बाल्दा लक्ष्मी माता प्रसन्न हुने धार्मिक विश्वासका कारण दीपावलीमा भने बजारमा माटोको दियोको उच्च माग रहेको छ । दीपावली तथा छठ पर्वमा को लागि अहिले माटोको भाडा बनाउन कुमाल जाति व्यस्त रहेका छन् ।

परम्परागत पेसामा लागेका कुमाल जाति माटोको पाला तथा दियो अन्य समय बिक्री नहुँदा पेशाबाट विस्थापित भएतापनि यता दीपावली र छठपर्वका लागि भने परम्परा निर्वाह गर्न जुटेका छन् ।

विद्युतीय र प्लास्टिकका सामानहरूले बजार ढाक्दै गएकोले माटोको सामान बनाउने कुमाल जाति पेशाबाट विस्थापित हुन परेको हो । केही वर्षदेखि माटोको समान बजारमा दीपावली र छठ पूजामा मात्र खरिदबिक्री हुन थालेको छ ।

दीपावलीमा प्रयोग हुने माटोको दियो भन्दा विद्युतीय झिलिमिली बत्ती सस्तो र टिकाउ देखिएकोले शहर बजारदेखि गाउँसम्म यसैको प्रयोग बढेको छ ।

वीरगन्ज महानगरपालिका–२७ रामपुर चोकमा माटोको भाँडा बनाउने शङ्कर प्रजापति र कृष्ण प्रजापतिले परम्परा मात्र निर्वाह गरेको बताउनुभयो । 

बुबा बाजेको बखतदेखि माटोको भाँडा बनाएर जीबन गुजरा गर्दै आएको भएपनी अहिले दीपावली र छठपछि यो पेशा छाडेर मजदूरी गर्ने गरेको शङ्कर प्रजापतिले बताउनुभयो । 

दुई पर्वबाहेक माटाका सामानको खोजी हुन छाडेको र यस पेशाबाट जीबन गुजरा नचलेपछि अन्य पेशा गर्न बाध्य हुनुपरेको कृष्ण प्रजापतिले गुनासो गर्नुभयो ।

कृष्णले  लगानी र मेहनत अनुसारको मुनाफा नहुने बताउँदै भन्नुभयो “माटाका सामान हामी बनाउँछौ । हामीले मूल्य थोरै पाउँछौँ, व्यापारीहरू भने सस्तोमा खरिद गरेर महँगोमा बिक्री गर्छन् ।”

माटाका समान बनाएर बजारमा पुर्‍याएर  आफैँ बिक्री गर्ने कुमालहरूलाई केही मुनाफा हुने गरे पनि, माटाका सामान बनाएर व्यापारीमार्फत बिक्री गर्नेहरूलाई खासै फाइदा नहुने गरेको कृष्ण प्रजापतिले जानकारी दिनुभयो । 

दीपावली र छठ नजिकिएसँगै वीरगन्ज महानगरलगायतका विभिन्न स्थानहरूमा माटोका सामान बिक्री सुरु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button