तपाईँ सुन्दै हुनुहुन्छः

११ देशमा कार्यरत राजदूतहरूलाई फिर्ता बोलाउने मन्त्रिपरिषद् बैठकको निर्णय

काठमाडौँ । सरकारले अमेरिका, चीन, जापान लगायत ११ देशमा कार्यरत राजदूतहरुलाई  फिर्ता बोलाउने निर्णय गरेको छ ।

आज सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले अघिल्लो सरकारले नियुक्त गरेका विभिन्न एघार देशका राजदूतलाई कार्तिक २० गतेभित्र नेपाल फर्किसक्ने गरी फिर्ता बोलाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले बताउनुभयो  । 

सरकारले फिर्ता बोलाएका राजदूतहरूमा डा.कृष्ण प्रसाद ओली (चीन), लोकदर्शन रेग्मी (अमेरिका), चन्द्र घिमिरे (बेलायत), नेत्र तिम्सिना (मलेसिया), शैल रुपाखेती (जर्मनी), धनप्रसाद पण्डित (इजरायल), जंगप्रसाद चौहान (रुस), सनिल नेपाल (स्पेन), रमेशचन्द्र पौडेल (कतार), नरेशविक्रम ढकाल (साउदी) र दुर्गाबहादुर सुवेदी (जापान) रहनुभएको छ ।

यस्तै मन्त्रिपरिषद् बैठकले नेपाल विद्युत् प्राधिकरण र भारतको पावर व्रिड कर्पोरेसन लिमिटेडको संयुक्त लगानीमा इनरुवा पुर्णिया र दोधारा बरेली ४ सय केभि अन्तरदेशीय विद्युत् प्रशासरण लाइनको दुई वटा संयुक्त कम्पनीहरू नेपाल र भारत दुवै भूमिमा स्थापना गर्ने निर्णय गरेको छ ।

सञ्चार मन्त्री खरेलले उक्त संयुक्त दुई कम्पनीहरूमा नेपाल विद्युत् प्राधिकरणबाट १ अर्ब र २ अर्ब रुपैयाँ बराबरको पुँजी लगानी गर्न स्वीकृति प्रदान गर्ने पनि निर्णय भएको बताउनुभयो ।

यस्तै विश्व बैङ्कबाट सार्वजनिक वित्त व्यवस्थापन परियोजनाका लागि प्राप्त हुने १० मिलियन अमेरिकी डलर बरावरको अनुदान सहायता स्वीकार गर्ने, नेपाल र भारतबिच पारस्परिक कानुनी सहायता सन्धी सम्बन्धी सम्झौता स्वीकृत गर्ने निर्णय भएको सञ्चार मन्त्री खरेलले बताउनुभयो । 

यस्तै सञ्चार मन्त्री खरेलले कीर्तिपुर क्रिकेट रंगशाला आयोजनाको गुरुयोजना स्वीकृत गरी गुरुयोजना बमोजिमको बाँकी कामको बोलपत्र आह्वान गरी खरिद प्रक्रिया अघि बढाउन स्वीकृति प्रदान गर्ने पनि निर्णय भएको जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button