बिहार विधानसभा निर्वाचन लक्षित गर्दै नेपाल–भारत सुरक्षा अधिकारीहरूको संयुक्त बैठक सम्पन्न

वीरगञ्ज। आगामी नोभेम्बर ११ तारिखमा हुन गइरहेको बिहार विधान सभा आम निर्वाचनलाई लक्षित गर्दै नेपाल भारत सुरक्षा अधिकारीहरूको संयुक्त बैठक सम्पन्न भएको छ ।
एकीकृत सुरक्षा जाँच चौकी आईसिपी रक्सौलको सभाहलमा आयोजित बैठकमा दुवै देशका उच्चपदस्थ सुरक्षा अधिकारीहरूले निर्वाचनको बेला खुल्ला सीमाको कारण हुन सक्ने आपराधिक गतिविधिको नियन्त्रण,सिम सुरक्षामा कडाइ गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । बैठकमा नेपालका सुरक्षा अधिकारीहरूले बिहारमा हुने निर्वाचनलाई शान्तिपूर्ण बनाउन आवश्यक सहयोग गर्ने जनाएका छन् ।
नेपाल भारत सीमावर्ती जिल्लाका सुरक्षा अधिकारीहरूको संयुक्त समन्वयात्मक बैठकलाई सम्बोधन गर्दै सीमा सुरक्षा बल (एसएसबी) सीमान्त मुख्यालय, पटनाका महानिरीक्षक नशीथ कुमार उज्जवलले सीमाबाट आवतजावत गर्ने नागरिकहरूको पहिचान गरी कडा चेक जाँच गर्ने, अवैध हातहतियार तथा अपराधीहरूको घुसपैठ पूर्णरुपमा नियन्त्रण गर्न संयुक्त सीमा सुरक्षा अधिकारीलाई आग्रह गर्नुभएको छ ।
बैठकमा बिहार विधान सभा चुनावको सुरक्षासँगै, तस्करी नियन्त्रण तथा सीमावर्ती सुरक्षासम्बन्धी विभिन्न विषयमा गम्भीर छलफल भएको पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले जानकारी दिनुभयो ।
बैठकमा नेपालबाट पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदी, सशस्त्र प्रहरी बल ३ नम्बर गणका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक अञ्जनीकुमार पोखरेल,नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका बारा,पर्सा,रौतहट, चितवनका प्रमुखहरू सहितका सुरक्षा प्रमुखहरूको सहभागिता रहेको थियो ।
त्यसै गरी बैठकमा भारतको तर्पmबाट पूर्वी चम्पारण बिहारका प्रमुख जिल्ला अधिकारी सौरभ जोरवाल, क्षेत्रीय मुख्यालय एसएसबी बेतियाका उप–महानिरीक्षक एस. सुब्रमण्यम, ४७ औँ वाहिनी एसएसबी रक्सौलका कमाण्डेन्ट संजय पाण्डेय, मोतिहारीका प्रहरी अधीक्षक स्वर्ण प्रभात लगायतको सहभागिता रहेको थियो ।
प्रतिक्रिया राख्नुहोस्