तपाईँ सुन्दै हुनुहुन्छः

कृषि भूमिको संरक्षण आवश्यक: कृषिमन्त्री परियार

काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री डा. मदनप्रसाद परियारले खाद्य सुरक्षालाई राष्ट्रिय सुरक्षाकै रूपमा लिइने भएकाले कृषि भूमिको संरक्षण गर्नुपर्ने बताउनुभएको छ ।

मन्त्री परियारले ४५औँ विश्व खाद्य दिवसका उपलक्ष्यमा आज एक सन्देश जारी गर्दै उपलब्ध भूमिको समुचित उपयोग गरी कृषि क्षेत्रलाई व्यवसायीकरण र आधुनिकीकरण गर्नुपर्ने बताउनुभयो ।

भूमिको उत्पादन र उत्पादकत्व अभिवृद्धिमार्फत नागरिकमा खाद्य सुरक्षाको अनुभूत गराउनु आजको प्रमुख चुनौतीका रूपमा रहेको बताउँदै उहाँले यस वर्ष ‘स्वच्छ खाना र सुखद् भविष्यका लागि हातेमालो’ भन्ने नारासहित कृषि तथा पशुपन्छी विकास मन्त्रालयको अगुवाइ र कृषि विभागको समन्वयमा ४५औँ विश्व खाद्य दिवसमा विभिन्न कार्यक्रमको आयोजना गरिएको जानकारी दिनुभयो ।

मन्त्री परियारले विश्वव्यापी सहकार्यमा कुपोषण र भोकमरीजस्ता चुनौतीलाई सामना गर्न संयुक्त पहल र ऐक्यबद्धताका लागि विश्वव्यापी रूपमा हरेक वर्षको अक्टोबर १६ मा विश्व खाद्य दिवस मनाउने सन्दर्भमा नेपालमा पनि  २०३८ सालदेखि हरेक वर्ष विश्व खाद्य दिवस मनाउने गरिएको जनाइएको छ ।

मुलुकमा किसान परिवारको सङ्ख्या करिब ४१ लाख ३० हजार रहेकोमध्ये वर्षैभरि खान नपुग्ने किसान परिवारको सङ्ख्या करिब ५५ प्रतिशत रहेको सो सन्देशमा उल्लेख छ । विश्व भोकमरी सूचकाङ्कमा गत वर्ष ६८औँ स्थानमा रहेको नेपाल यस वर्ष ७२औँ स्थानमा छ । सन् २०३० सम्ममा करिब ६७ करोड मानिसहरू दीर्घकालीन रूपमा कुपोषित हुने अनुमान गरिएको सन्देशमा जनाइएको छ ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button