इटालीमा प्रत्येक १० मध्ये एक जना ‘पूर्ण गरिबीमा’ : अध्ययन
मिलान, इटाली। इटालीमा सन् २०२४ मा करिब १० जनामध्ये एक जना पूर्ण गरिबीको अवस्थामा रहेको एक अध्ययनले देखाएको छ ।
मङ्गलवार सार्वजनिक गरिएको इटालीको राष्ट्रिय तथ्याङ्क संस्था (इस्तात) को प्रतिवेदन अनुसार, देशभर ५७ लाख मानिस (झन्डै २२ लाख घरपरिवार) पूर्ण गरिबीमा बाँचिरहेका छन्, जसले कुल जनसङ्ख्याको ९.८ प्रतिशत प्रतिनिधित्व गर्छ । ‘पूर्ण गरिबीमा’ भन्नाले मानिसले दैनिक जीवनयापनका लागि आवश्यक आधारभूत वस्तु तथा सेवा खरिद गर्न नसक्ने अवस्थालाई जनाइएको छ ।
उदाहरणका लागि, रोम शहरमा एक युवा जोडी र एक सन्तान भएको परिवारको लागि सन् २०२३ मा पूर्ण गरिबीको सीमा एक हजार पाँच सय ६८ युरो प्रति महिना (झन्डै एक हजार ८०० अमेरिकी डलर) तोकिएको थियो । अघिल्ला दुई वर्षमा यो अनुपात स्थिर भएपनि पछिल्ला १० वर्षमा भने गरिबी उल्लेख्य रूपमा बढेको अध्ययनले जनाएको छ ।
युरोप स्तरीय मापदण्डअनुसार, सन् २०२४ मा करिब एक करोड ३६ लाख इटालियन (जनसङ्ख्याको २३ प्रतिशत) गरिबी वा सामाजिक बहिष्करणको जोखिममा परेका थिए । यो दर युरोपेली सङ्घको औसत २१ प्रतिशतभन्दा उच्च हो । इटाली केही पश्चिम युरोपेली मुलुकभन्दा कमजोर अवस्थामा देखिए पनि, ग्रिसजस्ता राष्ट्रको तुलनामा राम्रो अवस्थामा छ, जहाँ गरिबीको जोखिम २७ प्रतिशत पुगेको छ ।
यो अध्ययन अनुसार, विदेशी नागरिक (प्रवासी) गरिबीबाट अझ बढी प्रभावित छन् । पूर्ण रूपमा विदेशीबाट बनेका घर परिवार मध्ये ३५ प्रतिशत गरिबीको रेखामुनि रहेका छन्, जबकि केवल इटालियन नागरिक भएका घर परिवारमा यो सङ्ख्या ६ प्रतिशत मात्र रहेको छ । रासस/एएफपी
प्रतिक्रिया राख्नुहोस्