तपाईँ सुन्दै हुनुहुन्छः

‘अम्ब्रेला स्ट्रिट’ मा पर्यटकको भिड

पोखरा । पर्यटकीय राजधानी पोखराको लेक साइडमा हालै सुरु गरिएको ‘अम्ब्रेला स्ट्रिट’ नयाँ आकर्षणको केन्द्र बनेको छ । रंगीबिरंगी छाताहरू सडकमाथि कलात्मक ढंगले झुन्ड्याएर सजाइएको यो सडक अहिले देश–विदेशका पर्यटकका लागि फोटो र भिडियो खिच्ने लोकप्रिय गन्तव्य बनेको हो ।

लेक साइडको हल्लन चोकदेखि फेवाताल किनारसम्म फैलिएको यस ‘अम्ब्रेला स्ट्रिट’मा रातो, निलो, पहेंलो र हरियो रङ्गका छाताहरू सडकमाथि आकर्षक ढंगले टाँगिएका छन् । यसले पोखराको सौन्दर्यमा नयाँ आकर्षण थपेको छ भने सहरलाई अझै जीवन्त बनाएको छ ।

पछिल्ला दिनमा देशका विभिन्न भागमा भएका आन्दोलन र बाढीपहिरोका कारण पर्यटक आगमन घटेको बेला यस्तो आकर्षक पहलले पुनः पर्यटन क्षेत्रमा सकारात्मक सन्देश दिएको पोखरा महानगरपालिका–६ का वडा अध्यक्ष विष्णु बहादुर भट्टराईले बताउनुभयो ।

‘अम्ब्रेला स्ट्रिट’ दृश्यहरू प्रायः युरोप र एसियाका केही सहरहरूमा देखिने भए पनि पोखरामा यसको सुरु हुनुले सहरको पर्यटकीय पहिचानमा नयाँ आयाम थपेको पर्यटन व्यवसायीको भनाई छ । लेक साइडको यो नयाँ दृश्यावलोकन स्थल अहिले सामाजिक सञ्जालमा ट्रेन्डिङ बनेको छ । दैनिक हजारौँ पर्यटकले यहाँ फोटो र भिडियो खिच्दै रमाइलो गर्ने गरेका छन् । धेरैले यसलाई पोखराको सौन्दर्यमा थपिएको अर्को रङ्गिन आकर्षणका रूपमा लिएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button