तपाईँ सुन्दै हुनुहुन्छः

पर्सामा हैजा र झाडापखालाविरुद्धको खोप अभियान तीव्र

दुई दिनमै ४६ हजारभन्दा बढीले लगाए खोप

वीरगञ्ज । पर्सा र बारामा फैलिएको हैजा र झाडापखालाको महामारी नियन्त्रण गर्न नेपाल सरकारले सञ्चालन गरेको खोप अभियानले तीव्रता पाएको छ ।

पर्सा जिल्लामा दुई दिन भित्र ४६ हजार ८ सय ९६ जनाले हैजा विरुद्धको खोप लगाएका छन् । अभियान पर्साका १४ र बाराका ६ स्थानीय तहमा सञ्चालित छ ।

स्वास्थ्य सेवा विभागअन्तर्गत बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमका अनुसार, पर्साका ६ लाख ५२ हजार लक्षित जनसङ्ख्यामध्ये वीरगञ्ज महानगरपालिकामा २१,५१३, पोखरिया नगरपालिकामा ८,८७६, सखुवा प्रसौनी गाउँपालिकामा ९,७९९, धोबिनी गाउँपालिकामा ४,५३३ र जगरनाथपुर गाउँपालिकामा २१७५ जनाले खोप लगाइसकेका छन् । यस्तै, दुवै जिल्लाका लागि १० लाख १८ हजार १०० डोज खोप आयात गरिएको छ ।

गत भदौ ६ गते वीरगञ्जको मुरली टोलबाट सुरु भएको हैजा प्रकोपका कारण हालसम्म पर्सा र बारामा १,६८५ बिरामी फेला परेका छन् । यद्यपि, सबै बिरामी उपचारपछि निको भएर घर फर्किसकेका छन् र कसैको मृत्यु भएको छैन ।  सङ्क्रमणको स्रोत अझै पत्ता लाग्न नसके पनि, महामारी नियन्त्रण र फैलावट रोक्न खोप अभियानलाई तीव्र बनाइएको छ ।

आइतबार पर्साका प्रमुख जिल्ला अधिकारी तोयानारायण सुवेदीले खोप लगाएर अभियानको औपचारिक शुभारम्भ गर्नुभएको थियो । उहाँले सबै उमेर समूहका व्यक्तिलाई खोप लगाएर आफू र परिवारलाई सुरक्षित राख्न आग्रह गर्नुभएको थियो ।

स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले अभियानले प्रभावित क्षेत्रका बासिन्दालाई रोगबाट जोगाउन र अन्यत्र फैलिनबाट रोक्न महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । 

पर्सामा असोज २६ देखि कात्तिक २ गतेसम्म सञ्चालित अभियानका लागि १,९५० खोप केन्द्र स्थापना गरिएको छ । केन्द्रहरूमा स्थानीय पालिका, अस्पताल, विद्यालय, धार्मिक स्थल, बसपार्क, सीमा नाका र उद्योगहरू समावेश छन् । अभियानमा १,५४४ महिला स्वास्थ्य स्वयंसेविका र ३५० स्वास्थ्यकर्मी गरी १,८९४ जनशक्ति परिचालित छन् ।

बारामा पनि खोप अभियान सुरु भएको छ । बाराको कलैया, जीतपुरसिमरा, परवानीपुर, प्रसौनी, फेटा र विश्रामपुर पालिकाहरू केन्द्रित हुनेछन् ।

परिवार कल्याण महाशाखाका प्रमुख डा. विवेककुमार लालले इयूभिकोल–एस खोप एक मात्रा खाएको दुई हप्तापछि ८२ प्रतिशत प्रभावकारी हुने बताउनुभयो ।

स्वास्थ्य सेवा विभागअन्तर्गत बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमले तिहारअघि नै पर्सा र बाराका सम्पूर्ण लक्षित क्षेत्रमा अभियान सम्पन्न गर्ने लक्ष्य रहेको जानकारी दिनुभयो । 

विश्व स्वास्थ्य सङ्गठन र युनिसेफको प्राविधिक सहयोगमा सञ्चालित अभियानले हैजा र झाडापखालाको जोखिमबाट स्थानीय बासिन्दालाई सुरक्षित राख्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button