तपाईँ सुन्दै हुनुहुन्छः

‘संविधान तथा उपलब्धिको रक्षाका लागि फागुन २१ को चुनाव सफल हुन जरुरी’

जनकपुरधाम । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान संविधान तथा हालसम्मको उपलब्धिको रक्षाका लागि फागुन २१ को चुनावमा भाग लिएर सफल बनाउनुको कुनै विकल्प नभएको बताउनुभएको छ ।

अध्यक्ष यादवले पार्टीको मधेश प्रदेशको एकताको प्रथम महाधिवेशनको आज जनकपुरधाममा उद्घाटन गर्दै जेन्जी पुस्ताले उठाएको मागहरूको सम्बोधन गर्न विगतदेखि नै पार्टीले उठाउँदै आएको कार्यकारी राष्ट्रपतिको निर्वाचन मुलुकमा हुन जरुरी रहेको बताउनुभयो ।

उहाँले मधेशी, आदिवासी तथा जनजातिका माग सम्बोधनका लागि सङ्घीयताको विरोध होइन अझ बढी सबल र सक्षम बनाउन जरुरी रहेकोप्रति जेन्जी पुस्तालाई गम्भीर र सजग बन्न आग्रह गर्नुभयो ।   

जनता समाजवादी पार्टीका उपाध्यक्ष एवं मधेश प्रदेशका पूर्व मुख्यमन्त्री लालबाबु राउतले जेन्जी पुस्ताको आन्दोलन कुशासन तथा भ्रष्टाचारको विरुद्धमा भएको बताउनुभयो ।

पार्टीका महासचिव एवं प्रवक्ता मनिष सुमनले जेन्जी पुस्ताले उठाएको मागप्रति जनता समाजवादी पार्टीको पूर्ण समर्थन रहेको बताउनुभयो ।

जनता समाजवादी पार्टी नेपाल मधेश प्रदेशका अध्यक्ष बालकिशोर प्रसाद यादवको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका उपाध्यक्ष गोविन्द चौधरी, राम कुमार शर्मा, जितेन्द्र कुमार सिंह यादव, नेता दिपक कार्की लगायतले बोल्नुभएको थियो ।

दुई दिनसम्म चल्ने पार्टीको मधेश प्रदेश अधिवेशनमा ५ सय प्रतिनिधि तथा १ सय पर्यवेक्षक गरेर ६ सय जनाको सहभागिता रहेको र प्रदेश अधिवेशनबाट प्रदेश अध्यक्षसहित ५१ सदस्यीय नयाँ कार्यसमिति हुने प्रदेश अध्यक्ष बालकिशोर प्रसादले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button