नीजि अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीद्वारा आन्दोलनको चेतावनी
जनकपुरधाम । मधेश प्रदेशका निजी अस्पतालहरूमा कार्यरत स्वास्थ्यकर्मीहरूले श्रम शोषण, तलब–सुविधामा असमानता र कार्यस्थलमा असुरक्षाको गुनासो गर्दै आन्दोलनको चेतावनी दिएका छन् ।

जनकपुरधाममा आज पत्रकार सम्मेलनको आयोजना गर्दै उनीहरूले आफ्ना ८ बुँदे माग सार्वजनिक गर्दै यदि ती मागहरू सम्बोधन नभए आगामी कार्तिक १६ गतेदेखि निजी अस्पतालहरू खाली गरेर शान्तिपूर्ण आन्दोलनमा उत्रिने चेतावनी दिएका हुन् ।
स्वास्थ्यकर्मी नवेश अधिकारीले सरकारको निर्देशन विपरीत निजी स्वास्थ्य संस्थाहरूले लगातार नियम उल्लङ्घन गर्दै आएको आरोप लगाउनुभयो । मन्त्रालयबाट पटक–पटक सूचना जारी भए पनि निजी अस्पतालहरूले त्यसको पालना नगरेको र तलब, सुरक्षा, बीमा, कामको समय लगायतका विषयमा सरकारले ध्यान नदिएको बताउनुभयो ।
स्वास्थ्यकर्मीहरूले नेपाल सरकारको ऐनअनुसार तलब स्केल सबै निजी अस्पतालमा अनिवार्य रूपमा लागू गरिनुपर्ने, सरकारी स्वास्थ्य संस्थामा कार्यरत करारका कर्मचारी हटाएर प्रदेश लोक सेवाबाट प्रतिस्पर्धात्मक पदपूर्ति गर्नुपर्ने, सबै स्वास्थ्यकर्मीका लागि सुरक्षा र बीमा अनिवार्य गरिनुपर्ने, निजी अस्पतालमा साप्ताहिक ४२ घण्टा भन्दा बढी काम नगराउने प्रावधान लागू गरिनुपर्ने माग गरेका छन् ।
अन्य मागमा स्वास्थ्यकर्मीका परिवारका सदस्यलाई निःशुल्क उपचार सुविधा उपलब्ध गराइनुपर्ने, प्रत्येक वर्ष कम्तीमा १० प्रतिशत तलब वृद्धि गरिनुपर्ने, स्वास्थ्य संस्थाभित्र हुने मानसिक तथा व्यावसायिक दबाब रोक्न स्पष्ट कार्ययोजना ल्याइनुपर्ने र कामको अवस्था र सेवा–सुविधा अनुगमन गर्ने स्वतन्त्र निकाय गठन गरिनुपर्ने लगायत छन् ।
प्रदेशभर करिब २० हजारभन्दा बढी स्वास्थ्यकर्मीहरू निजी अस्पतालमा कार्यरत छन् ।
प्रतिक्रिया राख्नुहोस्