सैन्य आधार तालिमको अन्तिम दलेल कवाज प्रदर्शन
बागमती । हेटौँडास्थित नेपाली सेनाको गोरखबहादुर गणमा सञ्चालित सिसं १८ सैन्य आधार तालिमको अन्तिम दलेल कवाज प्रदर्शन तथा पुरस्कार वितरण कार्यक्रम आज सम्पन्न भएको छ ।

गणको खेलमैदानमा आयोजित कार्यक्रममा नेपाली सेनाको मध्य पृतना हेडक्वार्टर हेटौँडाका पृतनापति उपरथी हरेन्द्र पाठकले नौ महिने सैन्य आधार तालिममा सहभागी नवप्रवेशी सैनिकहरूद्वारा प्रस्तुत अन्तिम दलेल कवाज प्रदर्शनको निरीक्षण गर्नाका साथै तालिमका उत्कृष्ट नवप्रवेशी सैनिक जवानहरूलाई पुरस्कार वितरण गर्नुभयो ।
कार्यक्रममा सङ्क्षिप्त सम्बोधन गर्नुहुँदै पृतनापति उपरथी पाठकले राष्ट्रको मेरुदण्ड सेना भएकाले सेना बलियो मात्र देश बलियो हुने बताउनुभयो । “राष्ट्रको मेरुदण्ड सेना हो, सेनाको मेरुदण्ड दक्ष, तालिम प्राप्त, अनुशासित र कर्तव्यनिष्ठ सैनिक हो”, उपरथी पाठकले भन्नुभयो, “तालिम प्राप्त गरी सेना प्रवेश गर्नुभएका तपाइहरूँ सेनाको उच्च छविलाई कायम राख्दै राष्ट्र, राष्ट्रियता, नेपाली जनता र नेपाली सेनाप्रति समर्पित भएर काम गर्नुहोला ।”
राष्ट्रिय स्वतन्त्रता, स्वाधीनता, भौगोलिक अखण्डता र राष्ट्रिय एकताको संरक्षणका लागि कटिबद्ध रहेको नेपाली सेनाले राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा ख्याति कमाइरहेको चर्चा गर्नुहुँदै उहाँले नयाँ पुस्ताले पनि यसलाई अनुशरण गरेर नवीनतम सोच, भविष्यमा आउन सक्ने खतराको मूल्याङ्कन गर्ने क्षमताको विकास गर्दै अघि बढ्नुपर्ने बताउनुभयो ।
त्यस अवसरमा सैन्य आधार तालिममा सहभागी एक सय सैनिक जवानमध्ये विभिन्न विद्यामा उत्कृष्ट भएका नवप्रवेशी सैनिक जवानलाई उपरथी पाठकले पुरस्कार वितरण गर्नुभयो ।रासस
प्रतिक्रिया राख्नुहोस्