जेनजी आन्दोलनमा लुटिएका एसएलआरको ५५ राउण्ड गोली झापाको कमलमा फेला
झापा । जेनजी आन्दोलनका क्रममा लुटिएका एसएलआरको ५५ राउण्ड गोली झापाको कमलमा फेला परेको छ ।
हिजो साँझ ७ बजे कमल गाउँपालिका वडा नं.–७ रङ्गपुर बस्ने ५५ वर्षीय गङ्गाप्रसाद पाण्डेले केराको पात काट्ने क्रममा आफ्नो खेतबारीमा सेतो बोरामा गोली फेला पार्नुभएको हो । उहाँले बोरा खोली हेर्दा गोली रहेकाले प्रहरीलाई खबर गर्नुभएको थियो ।

आज बिहान इलाका प्रहरी कार्यालय दमकबाट गएको प्रहरी निरीक्षक नवीन राईको टोलीले एसएलआरको गोली ७.६२ एमएम ५५ राउण्ड बुझेको थियो । ती गोली इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ ।
जेनजी आन्दोलनका क्रममा झापामा प्रहरीबाट लुटिएका २४ थान हतियार, ५६९० वटा गोली र १८० सेल अश्रुग्याँस गायब छ । आन्दोलनकारीहरूले इलाका प्रहरी कार्यालय बिर्तामोड र इलाका प्रहरी कार्यालय दमकबाट लुटेका विभिन्न हतियार फिर्ता गरे पनि त्यति हतियार फिर्ता नगरेको प्रहरी स्रोतले जनाएको छ ।
इलाका प्रहरी कार्यालय दमकबाट लुटिएका लामो हतियार (एसएलआरलगायत) –१४ थान र त्यसको गोली ४ हजारभन्दा बढी, सानो हतियार (पेस्तोल–रिभल्भर)– २ थान र त्यसमा लोड गरिएको ४० राउण्ड गोली, सर्ट गन/ग्याँस गन– ४ थान र त्यसको १८० सेल ग्याँस फिर्ता गरिएको छैन ।
त्यस्तै इलाका प्रहरी कार्यालय बिर्तामोडबाट लुटिएका लामो नाल (एसएलआर)– १ थान र त्यसको १५०० भन्दा बढी गोली, सानो हतियार (पेस्तोल–रिभल्भर) –३ थान र त्यसमा प्रयोग हुने १५० भन्दा बढी राउण्ड गोली फिर्ता नगरी गायब बनाइएको प्रहरी स्रोतले जनाएको छ । मानवअधिकारवादीहरूको रोहवरमा आन्दोलनकारीहरूले फिर्ता गरेको ८५ थान हतियार चारआलीस्थित अरिदमण गणले प्रहरीलाई जिम्मा लगाएको थियो ।
प्रतिक्रिया राख्नुहोस्