तपाईँ सुन्दै हुनुहुन्छः

बागलुङमा पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता हुँदै

बागलुङ । बागलुङबाट रोजगारीको सिलसिलामा विभिन्न देशमा गएर बसेका गैर आवासीय नागरिकको संस्था अन्तर्राष्ट्रिय बागलुङ समाजले बागलुङ जिल्लाभित्रका पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता गर्ने भएको छ ।

शुक्रवार पत्रकार सम्मेलन गरेर समाजका सचिव तथा खेल उपसमितिका संयोजक राजु थापाले उक्त पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता गर्न लागिएको जानकारी दिनुभयो ।

भलिबल सङ्घको व्यवस्थापन, बागलुङ नगरपालिका र जिल्ला खेलकुद विकास समितिको समन्वयमा असोज २९ गतेदेखि कात्तिक १ गतेसम्म प्रतियोगिता सञ्चालन हुनेछ । 

बागलुङका १० पालिकाबीच लिग कम नकआउट प्रतियोगिता गर्न लागिएको हो । खेलमा प्रथम हुनेले २ लाख नगद पुरस्कारसहित ट्रफी पदक र प्रमाणपत्र पाउनेछन् भने द्वितीयलाई १ लाख र तृतीयलाई ५० हजार रुपियाँ नगद पुरस्कार दिइने थापाले जानकारी दिनुभयो ।

खेलमा सान्त्वना हुनेले २५ हजार नगद पुरस्कार पाउनेछन् । खेलमा सहभागिता जनाउने सबै टिमलाई २५ हजारका दरले भत्ता उपलब्ध गराउने जनाइएको छ । 

पालिका स्तरीय खेलका लागि यो सर्वाधिक पुरस्कार राशिको खेल हुनेछ ।

समाजले हरेक २ वर्षमा प्रतियोगिता गर्ने योजना बनाएको छ । हरेक २ वर्षमा समाजको अधिवेशन हुने र त्यो समयमा सबै सदस्य र पदाधिकारी आएको मौका पर्ने भएकोले सोही समयमा प्रतियोगिता गर्ने पत्रकार सम्मेलनमा जानकारी गराइयो । 

बागलुङबाट संसारका विभिन्न देशमा पुगेका गैरआवासीयहरुको समाजले सामाजिक क्षेत्र, शिक्षा, स्वास्थ्य र खेलकुद क्षेत्रमा लगानी गर्दै आएका छन् । 

खेलमा उत्कृष्ट खेलाडीलाई १० हजार, विधागत उत्कृष्टलाई ५ हजार रुपियाँका दरले पुरस्कार दिइनेछ ।

पत्रकार सम्मेलनमा बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले खेलले जिल्लाको पहिचान बढाउने, पर्यटन प्रवर्धन गर्ने लगायतको फाइदा हुने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button